अर्जुन थापा अर्घाखाँची । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार पीताम्बर भुसालले जिल्लाको सर्वाङ्गीण विकासका लागि आफ्नो महत्वाकांक्षी र विस्तृत चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गर्नुभएको छ। अर्घाखाँचीको माटो र यहाँका जनताको आवश्यकतालाई नजिकबाट बुझ्नुभएका भुसालले “समृद्ध अर्घाखाँची, सुखी अर्घाखाँचीबासी” को नारालाई सार्थक बनाउन भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र सुशासनलाई मुख्य स्तम्भको रूपमा अघि सार्नुभएको छ।

भुसालको योजनामा भौतिक पूर्वाधारले विशेष प्राथमिकता पाएको छ। उहाँले जिल्लाका ऐतिहासिक कोटहरू अर्घाकोट, बल्कोट, खाँचीकोट र नुवाकोटलाई एउटै सडक सञ्जालमा जोड्ने ‘कोटदेखि कोटसम्म’ को चक्रपथ निर्माणलाई आफ्नो मुख्य आयोजना बनाउनुभएको छ। यसका साथै, सन्धिखर्क-गोरुसिङ्गे सडकलाई गुणस्तरीय डबल लेनमा विस्तार गर्ने, मदन भण्डारी राजमार्ग र सालझण्डी-ढोरपाटन सडकको अर्घाखाँची खण्डलाई तीव्रताका साथ सम्पन्न गर्ने र अलपत्र अवस्थामा रहेको अर्घा भगवती विमानस्थललाई सञ्चालनमा ल्याई जिल्लालाई हवाई सञ्जालसँग जोड्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन भुसालले ‘किसान पेन्सन’ को नयाँ अवधारणा अघि सार्नुभएको छ। किसानहरूले उत्पादन गरेका सामग्रीको न्यूनतम समर्थन मूल्य सरकारले नै तोक्ने र बिक्री नभएका उपजहरू सरकारले नै खरिद गर्ने ग्यारेन्टी उहाँको योजनामा छ। विशेष गरी अर्घाखाँचीको पहिचान बनेको सुन्तला र कफी खेतीलाई व्यावसायिक बनाउँदै विश्व बजारमा ब्राण्डिङ्ग गर्ने र बाँदर तथा बँदेल जस्ता वन्यजन्तुबाट हुने बालीको क्षति रोक्न प्रभावकारी कानुनी र प्राविधिक समाधान खोज्ने दृढता उहाँले देखाउनुभएको छ। “एक टोल-एक पोखरी” अभियान मार्फत सिँचाइ र खानेपानीको दिगो व्यवस्थापन गर्ने लक्ष्य पनि उहाँले लिनुभएको छ।
शिक्षा र प्रविधिको क्षेत्रमा भुसालले जिल्लालाई ‘डिजिटल हब’ बनाउने सपना देख्नुभएको छ। सदरमुकाम सन्धिखर्कमा उच्च क्षमताको ‘आईटी पार्क’ र ‘को-वर्किङ स्पेश’ स्थापना गरी युवाहरूलाई सूचना प्रविधिमा रोजगारी सिर्जना गर्ने उहाँको योजना छ। प्रत्येक माध्यमिक विद्यालयमा ‘विद्यालय नर्स’ को व्यवस्था गर्ने र विपन्न तथा दलित बालबालिकाका लागि निःशुल्क आवासीय शिक्षाको प्रबन्ध मिलाउने कुराले शिक्षामा सामाजिक न्यायको पक्षलाई जोड दिएको छ। युवाहरूका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर बिना ब्याज ‘स्टार्टअप कर्जा’ उपलब्ध गराई उद्यमशीलता प्रवद्र्धन गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप उपयोग गर्न ‘रिटर्नी उद्यमशीलता केन्द्र’ स्थापना गर्ने आकर्षक योजनाहरू बाचा-पत्रमा समेटिएका छन्।
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउन अर्घाखाँची जिल्ला अस्पताललाई सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध हुने ‘रिफरल सेन्टर’ को रूपमा विकास गर्ने र स्थानीय तहका १५ शैयाका अस्पतालहरूलाई साधन-स्रोत सम्पन्न बनाउने भुसालको संकल्प छ। ज्येष्ठ नागरिकका लागि प्रत्येक पालिकामा दिवा सेवा केन्द्र र पार्कहरू निर्माण गर्ने तथा सामाजिक सुरक्षा भत्तालाई समयसापेक्ष वृद्धि गर्दै लैजाने प्रतिबद्धताले समाजका हरेक वर्गलाई समेट्न खोजेको देखिन्छ।
पर्यटनतर्फ सुपा देउराली र पाणिनी तपोभूमिलाई केन्द्रमा राखेर ‘लुम्बिनी पर्यटन सर्किट’ सँग जोड्ने र पाणिनी तपोभूमिलाई विश्वस्तरको पूर्वीय दर्शन अध्ययन केन्द्र बनाउने ठूलो लक्ष्य उहाँले राख्नुभएको छ। सुशासनको सवालमा भुसालले सबैभन्दा फरक र जनपक्षीय प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन जितेपछि काठमाडौंमा मात्रै बस्ने पुरानो परिपाटीलाई तोड्दै जिल्लामै ‘सांसद सचिवालय’ स्थापना गर्ने र हरेक तीन महिनामा जनताको बीचमा सार्वजनिक सुनुवाइ गर्ने बाचा गर्नुभएको छ। “लाइन होइन अनलाइन” बाट सरकारी सेवा दिने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने अठोटका साथ भुसालले अर्घाखाँचीको समग्र विकासका लागि आफूलाई एक पटक अवसर दिन मतदाताहरूसँग अपिल समेत गर्नुभएको छ।
उहाँको प्रतिबद्धता पत्र यहाँ हेर्न सक्नु हुन्छ 👉️document

