अर्घाखाँची — देशभरका ७ सय ५३ स्थानीय तहमध्ये पाणिनि गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा पहिलो स्थान हासिल गर्दै देशकै उत्कृष्ट स्थानीय तह बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको पछिल्लो नतिजाअनुसार गाउँपालिकाले ८३.८४ अंक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको हो।

नतिजा सार्वजनिक भएसँगै गाउँपालिकाभित्र उत्साह र गर्वको वातावरण देखिएको छ। सेवाप्रवाह, वित्तीय अनुशासन, पारदर्शिता र संस्थागत व्यवस्थापनका सूचकमा राम्रो सुधार गरेका कारण पाणिनिले यो सफलता हात पारेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्।
यसै सन्दर्भमा गाउँपालिकाकी उपाध्यक्ष नर्मदा गौतम पौडेल ले यो उपलब्धि सम्पूर्ण पाणिनिवासीको साझा मेहनतको प्रतिफल भएको बताउनुभयो। “हामीले सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्यौँ। बजेट तर्जुमा र कार्यान्वयन, राजस्व परिचालन, शिक्षा–स्वास्थ्यका सूचक सुधार, अभिलेख व्यवस्थापन र वित्तीय पारदर्शितामा गरेको सुधारकै कारण आज यो नतिजा आएको हो,” उहाँले भन्नुभयो।
उहाँका अनुसार गाउँ कार्यपालिका, गाउँसभा सदस्य, राष्ट्रसेवक कर्मचारी, विषयगत शाखा, विद्यालय, स्वास्थ्य संस्था, करदाता, सहकारी, सामाजिक संस्था, नागरिक समाज तथा सञ्चारकर्मीको निरन्तर सहकार्यबिनाको यो सफलता सम्भव थिएन। “यो उपलब्धिले हाम्रो जिम्मेवारी अझ बढाएको छ। अब सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउँदै अघि बढ्छौँ,” उहाँको प्रतिबद्धता छ।
स्थानीयवासीहरूले पनि पाणिनिको यो सफलता गाउँपालिकाको समग्र विकास र सुशासनको प्रमाण भएको प्रतिक्रिया दिएका छन्। पछिल्ला वर्षहरूमा प्रशासनिक सुधार, नियमित अनुगमन र योजनाबद्ध कामका कारण सेवा लिन आउने नागरिकले सहज अनुभव गर्न थालेका छन्।
कार्यसम्पादन मूल्यांकनमा प्रथम हुँदै पाणिनि गाउँपालिकाले देशकै नमुना स्थानीय तहका रूपमा पहिचान बनाएको छ। आगामी दिनमा समेत यही गति कायम राख्दै सुशासन, विकास र समृद्धिको यात्रालाई अझ सशक्त बनाउने लक्ष्य गाउँपालिकाले लिएको बताइएको छ ।

