बुटवल, भदौ २३ – सरकारको मनोमानी, जनभावनाविपरीतका निर्णय र दिनानुदिन बढ्दै गएको भ्रष्टाचारविरुद्ध आज जेनजी (Gen Z) पुस्ताले बुटवलमा सडक प्रदर्शन गरेका छन्।

बिहान करिब ९ बजे बुटवल चौराहाबाट सुरु भएको ¥याली नारा लगाउँदै ट्राफिक चोकतर्फ अघि बढ्यो। प्रदर्शनकारीले “भ्रष्टाचार अन्त्य गर”, “केपी सर मुर्दाबाद”, “सामाजिक सञ्जाल सञ्चालन गर”, “जनताको आवाज सुन्ने सरकार चाहिन्छ” र “जनतामाथि अन्याय बन्द गर” जस्ता नाराबाजी गर्दै सरकारप्रति तीव्र असन्तुष्टि जनाए।
आन्दोलनमा विद्यालय तथा क्याम्पसका विद्यार्थी, विभिन्न युवा समूह र सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति देखियो। उनीहरूले हातमा प्लेकार्ड बोकेर सरकारको कामप्रति निराशा र रोष पोख्दै आम जनताको पीडाको आवाज सडकमा उतारेका थिए ।
सहभागी युवाहरूले सामाजिक सञ्जालमै सीमित रहेको आक्रोशलाई अब सडकसम्म ल्याउनुपर्ने अवस्था आएको भन्दै चेतावनी दिए। उनीहरूको भनाइमा, “देशको भविष्य सुरक्षित राख्न युवा पुस्ताले मौन बस्न सक्दैन, भ्रष्टाचारविरुद्ध लड्नु हाम्रो जिम्मेवारी हो।” भन्दै आन्दोलनमा अघि बडिरहेका थिए ।
प्रदर्शनका कारण केही समय ट्राफिक चोक आसपासको सडकमा सवारी सञ्चालन अवरुद्ध भए पनि कार्यक्रम शान्तिपूर्ण ढंगले जारी छ।
युवाहरूको आन्दोलनलाई हेर्दा भविष्यमा भ्रष्टाचारविरुद्ध थप ठूला आन्दोलन भड्किने संकेत देखिएको स्थानीय सरोकारवालाको भनाइ छ। सरकारले नियमन गर्ने ठाउँमा नियन्त्रणमा गर्नु संचार मन्त्रीले गैरजिम्मेवार जबाफ दिनु केही विकल्प नइ नभएको ठाउँमा सामाजिक संजाल एका एक बन्द गर्दा यतिबेला जन्ताको आक्रोश तीब्र रुपमा अघि बडेको छ ।

