
- अर्घाखाँचीकी कमला घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनि महिला क्लस्टरबाट प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
- उहाँले युवाको राजनीतिक सहभागिता, महिला नेतृत्व विकास र पार्टी संगठनलाई थप गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
- विद्यार्थी राजनीति र सामाजिक सेवामा सक्रिय घिमिरेको उम्मेदवारीलाई पार्टीमा युवा पुस्ताको बढ्दो सहभागिताका रूपमा हेरिएको छ।
लुम्बिनी – अर्घाखाँचीको पाणिनी गाउँपालिका–५, मैदानमा जन्मिनुभएकी कमला घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनि महिला क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय घिमिरेले नेपाल विद्यार्थी संघ अर्घाखाँचीको जिल्ला कोषाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ। पार्टीका गतिविधिलाई जनस्तरसम्म पुर्याउनेदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा समेत उहाँ निरन्तर सक्रिय रहँदै आउनुभएको छ।
युवा तथा महिलासँग सम्बन्धित विभिन्न सामाजिक गतिविधिमा सहभागी हुँदै आउनुभएकी घिमिरेले सामाजिक सेवाका क्रममा गरिब, विपन्न, दुःखमा परेका तथा अलपत्र नागरिकका समस्या सामाजिक सञ्जालमार्फत सम्बन्धित जिम्मेवार निकायसम्म पुर्याउन सहयोग गर्दै आउनुभएको बताइएको छ।
उम्मेदवारी घोषणा गर्दै घिमिरेले युवा पुस्ताको राजनीतिक सहभागिता, महिलाको नेतृत्व विकास र पार्टीभित्र नयाँ पुस्ताको भूमिकालाई प्राथमिकतामा राख्ने बताउनुभएको छ। कांग्रेसको संगठनलाई थप सक्रिय, गतिशील तथा युवा र महिलामैत्री बनाउन आफूले भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।
घिमिरेले पत्रकारितामार्फत समेत जनसेवामा योगदान गर्दै आएको बताउँदै राजनीति आफूका लागि केवल पद र नेतृत्व प्राप्त गर्ने माध्यम नभई समाज र जनताको बीचमा रहेर काम गर्ने अवसर भएको उल्लेख गर्नुभएको छ।
नेतृत्वको जिम्मेवारीमा पुगे पनि आफू सधैँ जनताको सुख–दुःखसँग जोडिएर काम गर्ने उहाँको प्रतिबद्धता छ।
पछिल्लो समय ‘जेन्जी’ आन्दोलनपछि विभिन्न राजनीतिक दल तथा संगठनमा युवा पुस्ताको सक्रियता बढ्दै गएको सन्दर्भमा घिमिरेको उम्मेदवारीलाई पनि कांग्रेसभित्र नयाँ पुस्ताको सहभागितासँग जोडेर हेरिएको छ। कांग्रेसले १५औँ महाधिवेशनबाट ३५ वर्षमुनिका युवालाई केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको छ। प्रकाशित कार्यतालिकाअनुसार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यक्रमसमेत तय गरिएको छ।
