मुगुअसोज -२ नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा हुम्लामा पार्टीका नेता–कार्यकर्ताको सक्रियता बढेको छ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही हुम्ला आइपुग्नुभएको छ। उहाँको हुम्ला आगमनलाई कांग्रेसको आसन्न महाधिवेशन तथा जिल्लाको संगठनात्मक गतिविधिसँग जोडेर हेरिएको छ।
पूर्वमुख्यमन्त्री शाहीले जिल्लामा रहेका कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ। भेटघाटका क्रममा १५औँ महाधिवेशनको तयारी, संगठन सुदृढीकरण, पार्टीभित्रको समन्वय तथा जिल्लाका समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
यसअघि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कांग्रेस सांसद जयपति रोकाया पनि पहिलोपटक गृहजिल्ला हुम्ला पुग्नुभएको थियो। महाधिवेशनको तयारीकै क्रममा कांग्रेस सभापति गगनकुमार थापासँग सांसद जयपति रोकाया, नेता जीवनबहादुर शाही तथा कांग्रेस नेता पूर्णबहादुर खड्काबीच संवाद र छलफल भएको विषयले समेत कांग्रेस वृत्तमा चासो बढाएको छ।
नेतृत्व तहमा भइरहेको संवाद र हुम्लामा नेताहरूको भेटघाटसँगै जिल्लामा १५औँ महाधिवेशनको तयारीले थप गति लिने अपेक्षा गरिएको छ। कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले महाधिवेशनलाई लक्षित गर्दै संगठनलाई थप व्यवस्थित र चलायमान बनाउने विषयमा छलफल अघि बढाउने भएका छन्।
जीवनबहादुर शाहीको हुम्ला आगमनसँगै १५औँ महाधिवेशन, पार्टी संगठन र जिल्लाको आगामी राजनीतिक गतिविधिबारे कांग्रेसभित्रको चहलपहल थप बढेको छ।
