
- देशभरका विभिन्न स्थानमा चट्याङ, सडक दुर्घटना र बाढीपहिरोका कारण मानवीय क्षति हुनुका साथै धेरै व्यक्ति अझै बेपत्ता छन्।
- बाढी प्रभावितको उद्धार र राहतका लागि सरकारको कोषमा झण्डै १२ अर्ब रकम जम्मा भएको छ भने विभिन्न क्षेत्रबाट राहत वितरण कार्य जारी छ।
- मलेसियामा हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावले अन्तर्राष्ट्रिय चासो बढाएको छ।
राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका समाचार

१. गुल्मीको मालिका गाउँपालिका–५ हिलेमा चट्याङ लागेर १६ वर्षीय किशोर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हिजो दिउँसो करिब ४ बजे आफ्नै घरको दलानमा बसेर चिया पिइरहेका रोशन कार्कीलाई अचानक चट्याङ लागेर घाईते भएका हुन ।घरको दलानमा बसेर चिया पिईरहेका बेला एक्कासी चट्याङले हानेर भुइँमा ढलेका कार्कीको शरीरको भित्री भागमा चोट लागेको बताइएको छ। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो। जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।
२. मलेसियाको सारावाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।मलेसियाली अधिकारीका अनुसार मंगलबार दिउँसो बो-१०५ प्रकारको हेलिकप्टर बोर्नियो टापुको उत्तरपश्चिमी क्षेत्रमा पर्ने मिरी सहरबाट करिब ३१५ किलोमिटर दक्षिणपूर्वमा रहेको दुर्गम हवाई क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।मिरीका विपद् व्यवस्थापन समितिका अध्यक्ष गालोङ लुआङले बुधबार जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको पुष्टि गरे। मृतकमध्ये चालक, एक चिकित्सक, एक स्वास्थ्य सहायक र दुई जना नर्स रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।सामाजिक सञ्जालमा सार्वजनिक भएको दुर्घटनाको दृश्यमा हेलिकप्टर खस्नुअघि त्यसबाट बाक्लो धुवाँ निस्किरहेको देखिन्छ। यद्यपि, दुर्घटनाको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
३. प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात रकम ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको छ ।भदौ २३ गते साँझ ५ः०० बजेसम्म कोषका ९ वटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर (प्रतिडलर १५०.८८ का दरले रूपान्तरण गर्दा) जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ ।रसुवा-भोटेकोशी बाढीपछिको अवधिमा मात्रै कोषमा ७ अर्ब ६८ करोड ४४ लाख र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सङ्कलन भएको छ ।यो रकम विपद्अघिको २ अर्ब ८ करोड २४ लाख मौज्दातभन्दा बाहेकको हो । भदौ २३ गते एकै दिनमा मात्रै ३० करोड ६२ लाख र १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको छ ।सङ्कलित रकममध्ये राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब हस्तान्तरण गरिसकिएको छ ।विपदको यस कठिन घडीमा प्रभावित परिवारका लागि निरन्तर सहयोग पुर्याउने स्वदेश तथा विदेशका सम्पूर्ण व्यक्ति र संस्थाहरूप्रति अर्थ मन्त्रालयले हार्दिक आभार व्यक्त गरेको छ ।
४. रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारलाई लोक गायक नारायण बि.पि को नेतृत्वमा एस.के. डान्स स्टुडियोको टोलीले बिदुर नगरपालिका वार्ड नम्बर -७ तुप्चे नुवाकोटमा गएर राहत सामग्री वितरण गरिएको छ ।राहत वितरणका क्रममा टोलीले प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था र तत्काल आवश्यकताबारे समेत जानकारी लिएको छ। गायक नारायण बि.पि का अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै आगामी दिनमा पनि राहत उपलब्ध गराउने बताउनु भयो।विपद्को समयमा पीडित नागरिकलाई एक्लो महसुस हुन दिने उनले बताए।हाल उपलब्ध गराइएका राहत सामग्रीमा दाल,चामल,तेल,नुन,चाउचाउ,चिउरा,भुजा,आलु ,बिस्कुट सिरक डस्ना पिपि फम,लत्ता कपडा,भाडा सेनेटरि प्याड लगायत लामो समयसम्म सुरक्षित राख्न सकिने अत्यावश्यक खाद्य सामग्री रहेका छन् ।केहि राहात सामग्री वितरणका लागि बिदुर नगरपालिका वार्ड नम्बर -७ तुप्चे नुवाकोटका वार्ड अध्यक्ष रबिन्द्र नेपाल र दिपु ढकाल लाइ जिम्मा लगाइको गायक बि.पि ले नेपाल खोज खबर बताउनु भयो। उनले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै एस.के. डान्स स्टुडियो ले आफ्नो क्षमताअनुसार निरन्तर सेवा र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
५. इरान र संयुक्त राज्य अमेरिकाबीच सैन्य तनाव थप चर्किएको छ।आफ्ना जहाजमाथि अमेरिकी आक्रमणको जवाफी कारबाहीस्वरूप इरानले बुधबार हर्मुज जलघाँटीमा अमेरिकी जहाज र तेल ट्याङ्करलाई लक्षित गर्नुका साथै जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।बढ्दो तनावले मध्यपूर्वको सुरक्षा र विश्वव्यापी तेल आपूर्तिमाथि जोखिम बढाएको छ।इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले हर्मुजबाट पार गर्न खोजिरहेका दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० ‘गैर–अनुपालन जहाज’ लाई लक्षित गरेको जनाएको छ।साथै कुवेत र बहराइनका बन्दरगाहमा रहेका तेल ट्याङ्करलाई समेत आक्रमण गर्ने चेतावनी दिँदै चालक दललाई जहाज छाड्न आग्रह गरेको छ।
६. रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७ जनाको शव फेला परेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोटेकोशी र त्रिशूली बाढीपछि हराइरहेका पाँच हजार १३२ जना अझै सम्पर्कविहीन छन्।प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२६, नवलपरासी पश्चिममा २२२ र चितवनमा ३६३ जनाको शव फेलापरेको छ।
तीमध्ये हालसम्म १०२ वटा शवको सनाखतपछि आफन्तले बुझिसकेका छन्।बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ तथा सरकारी कर्मचारी ७३ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ र विदेशी पर्यटक करिब ५८९ जना सम्पर्कविहीन छन्। सुरक्षा फौजले सम्पर्कविहीनको खोजी तथा उद्धारकार्यलाई थप तीव्र तुल्याइरहेको छ।बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ।
७. मुगुको खत्याड गाउँपालिकामा माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।प्रहरीका अनुसार खत्याड गाउँपालिका वडा नम्बर ८ रिया बस्ने अन्दाजी ६३ वर्षीय बाँच गिरीको बिहीबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायक उपनिरीक्षक रविराज थपलियाले जानकारी दिनु भयो गाउँपालिकातर्फ जाने क्रममा खत्याड गाउँपालिका वडा नम्बर ११ सेरा भन्ने ठाउँमा माथिबाट एक्कासि ढुङ्गा खस्दा गिरीको टाउको र दाहिने हातमा गम्भीर चोट लागेको थियो।घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रातापानी मुगुबाट प्रहरी हवल्दार गणेश प्रसाद चालिसेको कमाण्डमा ३ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले घाइते गिरीलाई उद्धार गरी मध्यान्ह १२:०० बजे आधारभूत स्वास्थ्य केन्द्र रातापानी मुगुमा उपचारका लागि ल्याएको थियो। तर, उपचारकै क्रममा दिउँसो १:१० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको समयमा मृतक गिरीका छोरा प्रेमलाल गिरी पनि साथमै रहेका थिए।घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब २ किलोमिटर पूर्वमा पर्दछ। घटनाको थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी निरीक्षक पदम बहादुर खत्रीको कमाण्डमा सोको (SOCO) सहित ५ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। उक्त घटनास्थल जिल्ला प्रहरी कार्यालय मुगुबाट करिब ८ घण्टा पश्चिम दूरीमा रहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
८. पृथ्वीराजमार्ग अन्तर्गत धादिङको -२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको हो । धादिङको गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको बा५७प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।मृत्यु हुनेमा धादिङ को गल्छी गाउँपालिका-५ का दिनेश तामाङ र हरी तामाङ रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
९. काठमाडौं।नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।मंगलबार प्रतितोला तीन हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार तोलामा तीन हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला तीन लाख दुई हजार चार सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।सोमबार सुन प्रतितोला तीन लाख पाँच हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।चाँदी मंगलबार प्रतितोला चार हजार सात सय ९० रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी बुधबार तोलामा चार हजार सात सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ४० रूपैयाँले घटेको हो।अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार तीन सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
१०. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडालाई लिएर राजनीतिक आरोप–प्रत्यारोप नगर्न आग्रह गरेका छन्। उनले विपद्का बेला पीडित नागरिकको आक्रोशलाई सरकारविरुद्धको प्रहार नभई राज्यसँगको अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताए।प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले बाढी तथा पहिरोका कारण सर्वस्व गुमाएका नागरिकको अवस्था अत्यन्तै पीडादायी रहेको उल्लेख गर्दै यस्तो समयमा राजनीतिको रोटी सेक्ने काम गर्न नहुने बताए।यस्तो कहालीलाग्दो विपद्पछि पनि हामीकहाँ विपद्लाई अवसर बनाएर एकअर्कामाथि आरोप–प्रत्यारोप गर्ने र कसलाई कसरी तल खसाल्ने भन्ने रोग देखिन्छ। तर विपद्को बेला राजनीतिको रोटी सेक्ने समय होइन,’ उनले भने।लामिछानेले विपद्मा परी घरबार, सम्पत्ति, आफन्त र जीवनका आधार गुमाएका नागरिकको पीडा सुरक्षित स्थानमा बसेर अनुभूति गर्न कठिन हुने बताए। आफ्ना आफन्तको अवस्था पत्ता लगाउन आतुर नागरिकले सरकारसँग तत्काल उद्धारको अपेक्षा गर्नु स्वाभाविक भएको उनको भनाइ छ।
