
- रसुवाको बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ भने करिब ४ हजार जना अझै सम्पर्कविहीन छन्।
- सुदूरपश्चिमको मौलिक गौरा पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ।
- नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ भने रसुवा बाढी पीडितको उद्धारका लागि सरकारले आयोजना प्रवर्द्धक कम्पनीहरूलाई अनुमति दिएको छ।
राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका समचार

१.नुवाकोटको विदुर नगरपालिका-१० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २४ जनाको शव फेला परेको छ।भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाए २४ जनाको शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले बताए।उनले भने, ‘बेत्रावतीस्थित एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको छ।’ उनले सुरुका दिनका उक्त ठाउँमा दलदल भएकाले जान सक्ने अवस्था नभएको बताए। उनले अहिले उक्त घरमा आफूहरू गएर निरीक्षण गरिरहेको बताए।
२. सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरुआत भएको छ। भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखि मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ। आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेँडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ।तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ। पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने आलिताल डडेल्धुराका ७८ बर्षिय खगेस्वरी भट्टले बताए।‘एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाँडामा भिजाउने गरिन्छ’, उनले भने, ‘बिरुडा भिजाउँदा माङ्गलकी सगुन फाँग गाउँछौँ।’ बिरुडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने चलन छ।
३. जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जानकारी दिएको छ ।हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती प्रदेशका केही स्थानमा, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका एक -दुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
४. रसुवामा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेर चितवनसम्म आइपुगेका शव फेला पर्ने क्रम जारी छ । चितवनमा हालसम्म ३२१ वटा शव फेला परेको प्रहरीले जनाएको छ ।फेला परेका शवमध्ये १२ जनाको मात्रै पहिचान खुलेको छ । पहिचान भएका ११ पुरुष र एक बालिकाको शव आफन्तले बुझिलगेका छन् । पहिचान हुन नसकेका अन्य शवलाई आवश्यक प्रक्रिया पूरा गरी देवघाट क्षेत्रमा व्यवस्थापन गर्ने काम भइरहेको छ ।चितवन प्रहरीले दिएको विवरणअनुसार सोमबार मात्रै ८१ वटा बेवारिसे शव व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवमा १३ महिला, १६ पुरुष, दुई बालिका, चार बालक तथा ४६ वटा अन्य शव छन् ।यसअघि भदौ १३ गते ९६ र भदौ १४ गते १०३ वटा बेवारिसे शव व्यवस्थापन गरिएको थियो । सोमबार थप ८१ शव व्यवस्थापन भएसँगै चितवनमा हालसम्म देवघाट क्षेत्रमा व्यवस्थापन गरिएका बेवारिसे शवको संख्या २८० पुगेको छ ।चितवनमा फेला परेका कुल ३२१ शवमध्ये ११६ पुरुष, ६६ महिला, सात बालक, छ बालिका र १२६ जना अन्य रहेका छन् ।पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले खोजी गर्दा सहज होस् भन्ने उद्देश्यले शवको डीएनए नमुना सुरक्षित राखिएको प्रहरीले जनाएको छ । साथै, प्रत्येक शवलाई निश्चित संकेत नम्बर दिएर अभिलेख राख्दै देवघाट क्षेत्रको जंगलमा डोजरको प्रयोग गरी जमिनमुनि व्यवस्थापन गरिएको छ ।यसरी शव व्यवस्थापन गर्दा भविष्यमा पहिचान खुलेमा सम्बन्धित शवको स्थान पहिल्याउन र आवश्यक प्रक्रिया अघि बढाउन सहज हुने बताइएको छ ।
५. नेपालमा यहि भदौ १० गते आएको भोटेकोशी बाढीमा बगेर भारत पुगेका १७ जनाको शव फेला परेको छ।भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रबाट १७ वटा शव बरामद गरिएको हो। उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र तमकुही राज तहसील क्षेत्रबाट १३ वटा शव निकालिएको छ। महराजगन्ज क्षेत्रमा भेटिएका तीन महिला र एक पुरुषगरी चार वटा शवलाई आवश्यक प्रक्रिया पूरा गरी सोमबार नै नेपाली प्रशासनलाई हस्तान्तरण गरिएको भारतीय पक्षले जनाएको हो।फेला परेका शवको तत्काल पहिचान हुन नसकेकाले भारतीय अधिकारीहरूले पोस्टमार्टमका क्रममा डीएनए नमुना सुरक्षित राखेको बताएका छन्। सीमावर्ती भारतीय क्षेत्रहरूमा सुरक्षा निकायले नदी किनारमा गस्ती र निगरानी तीव्र पारेको हो।बाढीका कारण नदीमा बगेका शव भारतसम्म पुगेका कारण यो अभियान चलाइएको छ।
६. नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ ।यस दिन सुन तोलामा ५०० रुपैयाँ र चाँदी तोलाको १५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला तीन लाख छ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।सोमबार सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।यस्तै आजको बजारमा चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ।सोमबार चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।
७. रसुवामा आएको बाढी पछि मंगलबार बिहानसम्म ९८७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि अझै करिब ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन्। प्राधिकरणका अनुसार भदौ १६ गते बिहान ९ बजेसम्म बाढी प्रभावित क्षेत्रमा फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६ नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जना फेला परेका छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना रहेका छन् । त्यस्तै, रसुवामा करिब ८६५ नुवाकोटमा करिब १ हजार ५५८, जलविद्युत् आयोजनाबाट करिब ६३९, सम्पर्कविहीन विदेशी नागरिक ५८३, विदेशीसँग घुम्न गएका नेपाली १६४, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ र क्वारेन्टाइन कार्यालयका ३ जना सम्पर्कविहीन रहेका छन्।
८. खोलाबाट अवैध रूपमा ढुंगा, गिटी र बालुवा निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनी मोरङले ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरी बल कंकालिनीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार सोमबार बेलुकी मोरङको उर्लाबारी नगरपालिकास्थित सुनझोडा खोला, मावा खोला र मिक्लाजुंग गाउँपालिकास्थित बक्राहा खोलाबाट ढुंगा, गिटी र बालुवा उत्खनन गरी लोड गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको हो ।सुनझोडा खोलाबाट प्रदेश नं १-०४-००१ त ०३४२ नम्बरको ट्याक्टरलाई ढुंगा लोड गरी निस्कँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । उर्लाबारी नगरपालिका-१ स्थित मावा खोलामा प्रदेश नं १-०२-००३ त १३५५ नम्बरको ट्याक्टरलाई बालुवा उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।मिक्लाजुङ गाउँपालिकाको मलामी टहरास्थित बक्राहा खोलाबाट मे १ त ४७७६, मे १ त ५३३२ र प्रदेश नं. १-०२-००३ त १३ नम्बरको ट्याक्टरलाई समेत बालुवा, ढुंगागिटी निकालेर लोड गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको उर्लाबारीस्थित सुरक्षा बेशबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मोरङका प्रमुख भण्डारीले जानकारी दिए ।उनका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टर उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको कार्यालयमा राखिएको छ । यसैगरी सशस्त्र प्रहरी बलको टोलीले मोरङका विभिन्न सीमानाकामा भारततर्फबाट भन्सार छलि गरी भित्रिएका ४ लाख ७१ हजार रुपैयाँभन्दा बढीको सामग्री बरामद गरेको छ । अवैध रुपमा भित्रिएका फलफूल, लत्ताकपडा, कस्मेटिक, मेशिनरी सरसमानदेखि किराना पसलका सामग्री सशस्त्र प्रहरीको टोलीले बरामद गरी विराटनगर भन्सार कार्यालयलाई बुझाएको छ।
९. रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि अहिलेसम्म एक हजार १० वटा शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २०९ महिला, ३८५ पुरुष र ३५१ आंशिक अंग रहेका छन्।पहिचान नभएका ८४७ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ। त्यस्तै, ५६ वटा शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ भने लास जाँच मुचुल्काको संख्या ९२७ पुगेको छ। शव व्यवस्थापनअन्तर्गत ५८१ वटा शव जमिनमा गाडिएको छ। तीमध्ये १२१ महिला, १९८ पुरुष र २६२ जनाको विवरण नखुलेको प्रहरीले जनाएको छ।खोज, उद्धार तथा राहत कार्य जारी छ। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ। बाढीबाट ६५ प्रहरी प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन छन्। प्रहरीका अनुसार कुल चार हजार ५९९ जना बेपत्ता रहेका छन्। बाढीबाट प्रभावित तथा उद्धार गरिएका मानिसलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। त्यहाँ कुल तीन हजार ४५३ जना रहेका छन्। नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौंमा ३२९ जना रहेका छन्।
१०. सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूको जीवन बचाउने सम्भावना क्षीण हुँदै बाढी गएको सातौं दिन बल्ल सरकारले आयोजना प्रवर्द्धकलाई उद्धारको अनुमति दिएको छ ।अनुमति पाएपछि आयोजना प्रवर्द्धक कम्पनीहरू प्राविधिक टोली र आवश्यक उपकरणसहित फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा परिचालन हुने भएका छन् ।यसअघि सरकारले जलविद्युत् आयोजनामा फसेकाहरूको खोज तथा उद्धारका लागि एकद्वार प्रणालीबाट काम गरिरहेको भन्दै सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई उद्धारमा प्रत्यक्ष संलग्न हुन दिएको थिएन । नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारको प्रयास भइरहेको थियो । तर, नेपाली सेनाको टोलीले सात दिनसम्म सुरुङमा फसेकाहरुको उद्धार गर्न सकेको छैन ।सात दिनसम्मको प्रयासबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेपछि सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई समेत प्राविधिक जनशक्ति र आवश्यक उपकरणसहित खोज तथा उद्धारमा खटिन भनेको हो ।
