
- शनिबार रातिदेखि मनसुनी प्रणाली थप सक्रिय भई देशका अधिकांश स्थानमा भारी वर्षा हुनेछ।
- बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पहिरो र बाढीको उच्च जोखिम रहेको छ।
- यात्रा गर्नुअघि मौसम र सडकको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ।
काठमाडौ – जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मनसुनी प्रणाली थप सक्रिय हुने पूर्वानुमान गर्दै देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ।
उहाँका अनुसार शनिबारसम्म देशका पहाडी भूभागका धेरै स्थान तथा हिमाली र तराईका केही क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहनेछ।
विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले पहिरो, गेग्रान बहाव तथा नदी–खोलामा पानीको सतह बढ्ने जोखिम रहेको महाशाखाले जनाएको छ। जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
मौसमविद् महर्जनले लामो दूरीको यात्रा गर्ने वा यात्रामा निस्कनुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन तथा अद्यावधिक मौसमी सूचना हेरेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई सुझाव दिनुभएको छ।
