काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका हुन्।

अर्थमन्त्री खनालका अनुसार मन्त्री पुनले आफू संलग्न रहेको अभियानमा सक्रिय रूपमा लाग्नुपर्ने भएकाले मन्त्री पदबाट राजीनामा दिएका हुन्। उनले पुनको निर्णयलाई व्यक्तिगत अभियान र प्रतिबद्धतासँग जोडेर उल्लेख गरेका छन्।
राजनीतिक वृत्तमा मन्त्री पुनको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ। कारण, उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिनमै पद त्याग गरेका हुन्। यसले उनको आगामी राजनीतिक योजना र रणनीतिप्रति विभिन्न अड्कलबाजी सुरु भएको छ।
यसअघि आइतबार मात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिएका थिए। लगातार तीन मन्त्रीको राजीनामापछि सरकारभित्र राजनीतिक पुनर्संरचना र आन्तरिक समीकरण फेरबदलको चर्चा चुलिएको छ।
मन्त्री पुनको राजीनामापछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषयमा समेत चासो बढेको छ। साथै, आगामी निर्वाचनको सन्दर्भमा सत्तारूढ दलको रणनीतिमा यसले कस्तो प्रभाव पार्छ भन्ने प्रश्न पनि उठ्न थालेका छन्। अब उक्त मन्त्रालयको जिम्मेवारी सुशील कार्की लाई गएको छ ।
