तनहुँ । आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लामा थप दुई मतदान केन्द्र स्थापना गर्न सिफारिस गरिएको छ। प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको आइतबार बसेको बैठकले उक्त निर्णय सहितको सिफारिस निर्वाचन आयोगमा पठाएको हो।

सिफारिसअनुसार ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा नयाँ मतदान केन्द्र थपिनेछन्। ऋषिङ गाउँपालिकाले जनसङ्ख्या घनत्व, भौगोलिक कठिनाइ र सुगमता सुनिश्चितताका आधारमा अतिरिक्त मतदान केन्द्र आवश्यक भएको भन्दै माग गरेको थियो।
प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार ऋषिङ–४ र ६ दुवै वडामा यसअघि एक–एक मतदान केन्द्र मात्र रहेका थिए। मतदाताको बढ्दो संख्या र पहुँच सहजताका कारण थप एक–एक मतदान केन्द्र आवश्यक ठहरिँदा आयोगमा औपचारिक सिफारिस पठाइएको हो। सो क्षेत्रको सुरक्षा अवस्था, भौगोलिक स्थिति तथा पूर्वाधारको अवस्थालाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले केही दिनअघि स्थल निरीक्षण समेत गरेको अधिकारीले बताए।
तनहुँका दुई निर्वाचन क्षेत्रमा अहिले तीन सय पाँच मतदान केन्द्र रहेका छन्। २०८२ असोज ८ गतेसम्म जिल्लामा दर्ता भएका मतदाताको संख्या दुई लाख ४७ हजार चार जनामा पुगेको छ। तीमध्ये एक लाख १९ हजार ८९ जना पुरुष, एक लाख २७ हजार नौ सय १५ जना महिला र बाँकी अन्य समावेश छन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालका अनुसार मतदाता नामावली दर्ताका लागि कार्यालयमा दैनिकजसो भीड बढिरहेको छ। उनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक तयारीहरू तीव्र रूपमा अघि बढिरहेको बताएका छन्।

