धर्विन खड्का क्षेत्रि
अर्घाखाँची, २०८२ कार्तिक २८
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय खन, अर्घाखाँचीले आज बिहान मालारानी गाउँपालिका–३ र ६ को सीमास्थित मालारानी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

बिहान ९ बजेबाट सुरु भएको उक्त सरसफाइ अभियान इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक फलबहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोली तथा स्थानीयको सक्रिय सहभागितामा सम्पन्न भएको हो। सरसफाइ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
कार्यक्रममार्फत मन्दिर परिसर तथा आसपासका क्षेत्रको फोहरमैला सङ्कलन, झाडी कटान तथा सामान्य वातावरण सरसफाइ गरिएको प्रहरी निरीक्षक तामाङले बताएका थिए।
उनीसँगै मन्दिर व्यवस्थापन समितिले पनि समुदाय र प्रहरीबीचको सहकार्यले धार्मिक स्थल संरक्षण तथा सफाइ अभियानलाई थप प्रभावकारी बनाएको टिप्पणी गरेको छ।
स्थानीयवासीहरूले प्रहरीको पहलप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस प्रकारका सामुदायिक सेवामूलक कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता बतायका छन्।
