काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूले आज (शुक्रबार) सन्तोषी माता र वैभवलक्ष्मी माताको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गर्दै व्रत बसिरहेका छन्। साथै यस दिन लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि विशेषरूपमा पूजा गरिने धार्मिक परम्परा रहेको छ।

धर्मशास्त्रअनुसार यस दिन लक्ष्मी माताको व्रत बस्दै विधिपूर्वक पूजा–आराधना गरेमा जीवनभर आर्थिक समृद्धि, सौभाग्य र स्थिरता प्राप्त हुने विश्वास गरिन्छ। शुक्रबारको दिनलाई लक्ष्मीप्रसाद तथा वैभव वृद्धिको प्रतीकका रूपमा लिइने भएकाले यस दिन व्रत बस्नेहरूलाई अत्यन्त शुभ मानिन्छ।
व्रत लिने भक्तजनहरूले फलाहारका रूपमा चना र सख्खर ग्रहण गर्नु शुभ मानिन्छ भने अमिलो परिकार खानु धार्मिक दृष्टिले वर्जित मानिन्छ। यसै दिन खीर पकाएर गरिब, असहाय र जरूरतमन्दलाई वितरण गरे घरमा धन, धान्य र समृद्धिको वृद्धि हुने जनविश्वास छ।
धार्मिक परम्पराअनुसार शुक्रबार तीन किसिमका व्रतहरू—सन्तोषी माता, वैभवलक्ष्मी र अन्नपूर्णेश्वरी माताको व्रत—बस्ने चलन छ। यिनीहरूका पूजा–विधि फरक–फरक भए पनि सबैको लक्ष्य आत्मसन्तोष, समृद्धि र पारिवारिक सुख प्राप्ति हो।
शुक्रवार सेतो रंगसँग सम्बन्धित दिन भएकाले यस दिन सेतो वस्त्र लगाउन, घरमा सुगन्धित धूप, चन्दन, कपुर, रेशमी कपडा, चिनी, घिऊ, तेल आदि दान गर्न शुभ फल प्राप्त हुने विश्वास गरिन्छ।
ज्योतिषशास्त्रअनुसार शुक्र ग्रह पीडित भएकाहरूका लागि पनि यो दिन विशेष प्रभावकारी मानिन्छ। शुक्र ग्रहको अशुभ दशाबाट मुक्ति पाउन सेतो घोडा वा सेतो रंगका वस्त्र दान गर्न, साथै शुक्रसँग सम्बन्धित रत्न धारण गर्न शुभ हुने बताइन्छ।
शुक्रवारको व्रत बस्ने पुरुष तथा महिलाले सन्तोष, शान्ति, सौभाग्य र मनोकांक्षा पूर्ति हुने धार्मिक विश्वास रहँदै आएको छ।

