पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपलभञ्ज्याङमा एक ईभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुटवलबाट छहरा मेहालढापतर्फ जाँदै गरेको लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान आज बिहान दुर्घटनामा परेको हो।
भ्यान आज बिहान करिब १० बजे छहरा बजारबाट मेहालढापतर्फ लागेको थियो। दुर्घटना साढे १० बजेतिर भए पनि घटनाबारे जानकारी करिब साढे १ बजे मात्र आएको स्थानीयवासी ईश्वर ज्ञवालीले बताए।
प्रहरीका अनुसार भ्यानमा चालकसहित तीन जना सवार थिए। उनीहरूलाई उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रधानले जानकारी दिए।
तर स्थानीयवासीका अनुसार घटनास्थलमै तीन जनाको मृत्यु भएको छ। मृतकहरूको पहिचान भने खुल्न बाँकी छ।
भ्यान सडकबाट करिब १ हजार ५ मिटर तल खसेको बताइएको छ।
