काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल निर्माण गर्ने घोषणा गरेका छन्। यसका लागि वार्ता समिति समेत गठन गरिएको उनले जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै ढुंगानाले ‘गरिखान देउ’ अभियानलाई राजनीतिक रूप दिँदै दल निर्माण प्रक्रियामा होमिन लागेको बताएका हुन्। उनका अनुसार जेनजी आन्दोलनले देशमा नयाँ राजनीतिक विकल्पको आवश्यकता देखाएको र त्यसैका आधारमा पार्टी गठनको निर्णय गरिएको हो।
तर उनले तत्कालका लागि निर्वाचनमा भाग नलिने स्पष्ट पारेका छन्। ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्ने व्यवस्था र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको सशक्त संरचना निर्माण गर्नुपर्ने जस्ता शर्तहरू अघि सारेका छन्।
“आमूल परिवर्तन ल्याउने अठोटका साथ पार्टी गठनका लागि वार्ता समिति बनाइएको छ। आजैदेखि इच्छुक सबैलाई यसमा जोडिन आग्रह गर्छौं। देश निकास खोजिरहेको छ, हामी त्यसका लागि जिम्मेवार बन्न तयार छौं,” ढुंगानाले भनेका छन्।
ढुंगानाले कात्तिक १ गते काठमाडौंको एभरेस्ट होटलमा पार्टी निर्माणसम्बन्धी औपचारिक प्रेस मिट गर्ने जानकारी पनि दिएका छन्।
