काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा आविष्कारक महावीर पुनलाई पनि समावेश गर्ने तयारी भएको छ।

प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्ने सहमति जनाएका छन्। उनलाई विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि हालसम्म शिक्षा मन्त्रालय विज्ञान तथा प्रविधिसँगै भएकाले दुबै मन्त्रालयको जिम्मेवारी दिने कि केवल विज्ञान तथा प्रविधिको मात्रै दिने भन्ने स्पष्ट भएको छैन।
पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्। नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्याउने अभियानका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार समेत प्राप्त गरेका थिए।
त्यस्तै, मन्त्रिपरिषद्मा दलित समुदायको समेत प्रतिनिधित्व हुने गरी नयाँ मन्त्री थप्ने तयारी भइरहेको छ।
हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले मात्रै काम गरिरहेको छ। मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री कार्कीका साथै अन्य मन्त्रीहरूले पनि गृहकार्य गरिरहेका छन्। विशेषगरी गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल यसमा सक्रिय रहेका छन्।
भदौ २७ गते जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले गएको आइतबार तीन मन्त्री नियुक्त गरेर पहिलो मन्त्रिपरिषद् बैठक सम्पन्न गरेकी थिइन्।
हरेक समाचार सुचना थप अपडेटको लागि हाम्रो फेसबुक पेज सङ्ग जोडिनु होला धन्यवाद ।
