सैनामैना, असार – सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ३४ करोड ८३ लाख ४९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको अध्यक्षतामा नगरसभाको सभाहलमा सम्पन्न १७औं नगरसभा बैठकबाट उपप्रमुख विना रानाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नुभएको हो। बजेटमा चालुतर्फ ५६ करोड ७९ लाख ६० हजार ५ सय (४२.१२ प्रतिशत) र पुँजीगततर्फ ७८ करोड ३ लाख ८८ हजार ५ सय (५७.८८ प्रतिशत) विनियोजन गरिएको छ। ‘सैनामैना समृद्धिको आधार : उत्पादन, पर्यटन र पूर्वाधार’ भन्ने नारालाई मूर्तरूप दिन भूमिहीन सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण–पत्र वितरण र बाँकी जग्गा नापजाँचका लागि १ करोड बजेट छुट्याइएको छ।

कृषि तथा सिचाइमा १ करोड ५२ लाख ४७ हजार, पशु विकासमा १ करोड, उद्योग श्रम, रोजगार र सहकारीतर्फ ४८ लाख ८० हजार, सामाजिक विकासतर्फ ३७ करोड ५९ लाख २९ हजार ५ सय, शिक्षा, खेलकुद तथा युवातर्फ २७ करोड ३८ लाख, संस्कृति संरक्षण तथा पर्यटनमा २२ लाख, पूर्वाधार विकासमा ७४ करोड ९८ लाख ८२ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा २ करोड १६ लाख विनियोजन गरिएको छ।
नगरपालिकाले आन्तरिक आम्दानी स्रोतबाट १२ करोड १६ लाख ११ हजार १ सय ६० रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १२ करोड ७५ लाख, राजस्व बाँडफाँड १४ करोड ३५ लाख ९० हजार ५ सय ७, सशर्त अनुदान ७३ करोड ७२ लाख, समपूरक अनुदान १ करोड ५० लाख र विशेष अनुदान १ करोड ६४ लाख प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी, लुम्बिनी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ८३ लाख ९४ हजार, सशर्त अनुदान १ करोड ६५ लाख, राजस्व बाँडफाँड १ करोड ६५ लाख ३६ हजार, मालपोत तथा रजिस्ट्रेशन शुल्क ४ करोड २५ लाख, समपूरक अनुदान १ करोड २० लाख र अघिल्लो वर्षको बचत ७ करोड ३९ लाख १७ हजार ३ सय ३३ रुपैयाँ रहने बताइएको छ।
नगर अस्पतालमा सेवा विस्तारका लागि थप जनशक्ति तथा स्रोत साधनको व्यवस्थामा बजेट छुट्याइएको छ। कृषिमा उत्पादन र उत्पादकत्व वृद्धिका लागि सिंचाइमा सुधार गरी ७५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ भने तरकारी बालीको नयाँ पकेट विकास कार्यक्रम सञ्चालन गरिनेछ। “उत्पादन साथमा, अनुदान हातमा” नारालाई आत्मसात गर्दै दूध उत्पादक किसानलाई प्रतिलिटर १ रुपैयाँ र मासु उत्पादकलाई प्रतिकेजी २० रुपैयाँको दरले प्रोत्साहन अनुदानस्वरूप २८ लाख विनियोजन गरिएको छ।
“समग्र शिक्षाको सुधार, बालबालिका विद्यालय प्रवेशको आधार” नाराअनुसार सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार विकासका लागि २ करोड ५५ लाख विनियोजन गरिएको छ। महिलालाई स्वरोजगार र उद्यमशील बनाउन “महिलासँग उपप्रमुख” कार्यक्रम अन्तर्गत तालिम प्राप्त अति विपन्न महिलालाई व्यवसायिक बनाउने र उनीहरूले उत्पादन गरेका सामग्रीहरूको बजारीकरण गर्न वडा नं. १० मा निर्माणाधीन कोसेली घरका लागि बजेट छुट्याइएको छ।
थारु समुदायको पहिचान, संस्कृति र जीवनशैली जोगाउन तथा पर्यावरणमैत्री पूर्वाधार विकास गर्न “नमूना उज्यालो थारु गाउँ” कार्यक्रमअन्तर्गत १ करोड विनियोजन गरिएको छ। “घुमौँ सैनामैना, रमौँ सैनामैना” भ्रमण वर्ष २०८२ अभियान अन्तर्गत नगरका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको सूचीकरण र प्रचारप्रसारका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ।
नगरको भूजल सतह स्थिर पार्न तथा वातावरण सन्तुलन राख्न “एक वडा एक पोखरी” कार्यक्रम र लेडुवा पोखरी तथा मेघाहवा तालको संरचना विस्तार र संरक्षणका लागि ३० लाख विनियोजन गरिएको छ। फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि सैनामैना–१० स्थित एकला पहाडमा अन्तर–स्थानीय तह संयुक्त फोहोरमैला प्रशोधन केन्द्र निर्माणको तयारीस्वरूप सट्टा भर्ना, रुख कटान, पहुँच मार्ग निर्माण लगायत पूर्वाधार निर्माणका लागि पनि बजेट छुट्याइएको छ।
नगरपालिकाले वडा तहमा समेत ११ वडाका लागि कुल ८ करोड ५७ लाख १८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। जसअनुसार वडा नं. १ मा १ करोड २ लाख ६१ हजार, वडा नं. २ मा ६६ लाख ७१ हजार, वडा नं. ३ मा ६७ लाख ९५ हजार, वडा नं. ४ मा ८३ लाख ४२ हजार, वडा नं. ५ मा ९० लाख ४३ हजार, वडा नं. ६ मा ८२ लाख ७३ हजार, वडा नं. ७ मा ६५ लाख, वडा नं. ८ मा ६५ लाख, वडा नं. ९ मा ६६ लाख ९९ हजार, वडा नं. १० मा ८९ लाख ८६ हजार र वडा नं. ११ मा ७६ लाख ४८ हजार रुपैयाँ छुट्याइएको छ।
नगरपालिकाले प्रस्तुत बजेट र कार्यक्रममार्फत समावेशी विकास, स्थानीय उत्पादनको प्रवर्द्धन, सेवाप्रवाहमा सुधार र वातावरणीय सन्तुलनलाई प्राथमिकता दिँदै समृद्ध र सशक्त सैनामैना निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।



