दाङ, असार ६ — लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि असार १ गते प्रस्तुत गरेको वार्षिक कार्यक्रम तथा बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लुम्बिनी प्रदेशले कडा आपत्ति जनाएको छ। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा संविधानसभा सदस्य अमरसिंह पुनको प्रकाशित प्रेस वक्तव्यमा प्रदेश सरकारले प्रस्तुत गरेको बजेट संघीय शासन प्रणालीको मर्म, लोकतान्त्रिक विकासको दिशाअनुरूप नभएको स्पष्ट गरिएको छ।

प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुसार बजेटमा प्रदेशको समग्र हित र नागरिकको न्यूनतम आवश्यकताभन्दा पनि सत्ता पक्षका मन्त्री तथा सांसदहरूको व्यक्तिगत स्वार्थ प्राथमिकतामा राखिएको जनाइएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा रोजगारीजस्ता आधारभूत सेवाहरूको सन्तुलन र आवश्यकताअनुसार समेटिनुपर्ने वार्षिक कार्यक्रम जनभावना विपरीत निर्माण गरिएको आरोप पनि लगाइएको छ।
नेपाली कांग्रेसले बजेट निर्माणको प्रक्रिया नै अपारदर्शी, अन्यायपूर्ण र असन्तुलित रहेको उल्लेख गरेको छ। विज्ञप्तिअनुसार, बजेट समावेशी, न्यायोचित, सन्तुलित र समन्वित ढंगले बनेको छैन। प्रदेशको समग्र विकास र समुदायको आवश्यकतालाई सम्बोधन गर्नुको साटो सत्ता पक्षको हितअनुकूल ढंगले बजेट निर्माण गरिएको कांग्रेसको आरोप छ।
बजेट निर्माणको क्रममा आर्थिक अनुशासन र सामान्य नीति सहमतिलाई बेवास्ता गर्दै मन्त्रालय वा स्थानगत जिम्मेवारीभन्दा बाहिरका अनाधिकृत व्यक्ति र समूहहरूको संलग्नता देखिएको पनि कांग्रेसले बताएको छ। मन्त्रालयहरूकै सल्लाह र संयोजनविना बजेट तयार गरिएको तथा सहभागी र सहमतिपूर्ण प्रक्रिया नअपनाइएको समेत उल्लेख गरिएको छ ।
यस्तै, विज्ञप्तिमा प्रदेशका दूरदराज क्षेत्र र कमजोर भूगोलका लागि आवश्यक ठानिएका रणनीतिक कार्यक्रमहरूलाई बेवास्ता गरी अल्पकालीन, प्रचारमुखी तथा चुनावी लाभका योजनालाई प्राथमिकता दिइएको छ। पहिलेका महत्वपूर्ण योजना र कार्यालयहरूलाई आवश्यक समीक्षा र प्राथमिकताअनुसार निरन्तरता नदिई नेताहरूको निर्देशन अनुसार योजना समावेश गरिएको आरोप पनि लगाइएको छ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले यस्ता त्रुटिपूर्ण, असन्तुलित र अपारदर्शी बजेट प्रदेशको हित विपरीत रहेको भन्दै पुनरावलोकन गरी सबै वर्ग, समुदाय, भूगोल र क्षेत्रलाई न्याय दिने गरी पुनः निर्माण गर्न माग गरेको छ। विज्ञप्तिमा लोकतान्त्रिक प्रक्रिया र जनप्रतिनिधिमार्फत बन्नुपर्ने बजेट सत्ताको मनोमानी ढंगले निर्माण हुनु गम्भीर चिन्ताको विषय रहेको उल्लेख समेत गरिएको छ।

