रुपन्देही — जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले रुपन्देहीका विभिन्न स्थानहरूमा निगरानी गर्ने क्रममा लाखौं मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ। तस्करी, चोरी तथा अनधिकृत व्यापारमा संलग्न व्यक्तिहरूबाट बरामद गरिएका ती सामानहरू आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित कार्यालयहरूमा बुझाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका–११ स्थित स्थानबाट घरेलु मदिरा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ गरी उक्त व्यक्तिको साथबाट दुई वटा स्कुटर र एक थान मोटरसाइकलसहित रु १,७६,००० बराबरको मदिरा बरामद गरिएको छ। बरामद मदिरा तथा सवारी साधन आवश्यक प्रक्रिया अनुसार राजस्व कार्यालय बुझाइएको जनाइएको छ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले गैडहवा गाउँपालिका–७ तथा ओमसतिया गाउँपालिका–३ मा छापा मार्दा चोरीका दुई थान मोटरसाइकल, लुगा, जुत्ता, झोला, मोबाइल, इअरफोन, घडी, पर्स, चश्मा र अन्य सामग्रीसहित रु ५,२६,७४७ बराबरको सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सियारी गाउँपालिका–३, झुम्सास्थित भारततर्फ नेपाल भित्र्याइएको अवस्थामा रहेको वेवास्ता गरिएका मालसामानसमेत नियन्त्रणमा लिएको छ। बरामद सामानको अनुमानित मूल्य रु २,५०,००० रहेको बताइएको छ।
यस्तै, प्रहरी चौकी मर्चवारीबाट खटिएको टोलीले कोटहीमाई गाउँपालिका–३ र ६ मा मोटरसाइकलको प्रयोग गरी ल्याइएका लत्ताकपडा, चप्पल, बोरामा राखिएको सामग्री र सवारीसाधनसहित रु ६९,६०० बराबरको समान बरामद गरेको छ।
प्रहरीका अनुसार बरामद सबै समानहरू आवश्यक कारबाही प्रक्रिया पुरा गरी सम्बन्धित निकायमा बुझाइएको छ। स्थानीय सुरक्षाको हितका लागि अवैध कारोबार र तस्करी नियन्त्रणमा प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ।
