अर्घाखाँची, – अड्गुरी समाज रूपन्देहीको १२औँ वार्षिक साधारण सभा बुटवलस्थित एशियन पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। “आमा र जन्मभूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ “भन्ने नारासहित सम्पन्न उक्त सभामा शिक्षा, स्वास्थ्य, आपसी सद्भाव, संस्थागत विकास, बचत कार्यक्रम, छात्रवृत्ति वितरणदेखि विपद् व्यवस्थासम्मका विविध विषयमा समीक्षा र भावी योजनाबारे गहन छलफल गरिएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य समाजका उपाध्यक्ष नारायणप्रसाद घिमिरेले दिनुभयो। स्वागत मन्तव्यका क्रममा उहाँले समाजको १२ वर्षे यात्रालाई समर्पण, सहयोग र निरन्तरताको प्रतीकका रूपमा चित्रित गर्दै, सबै सदस्यहरूको सक्रिय सहभागिताले समाजलाई अझ मजबुत बनाएको उल्लेख गर्नुभयो।

सभाको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा पाणिनी गाउँपालिकाका वर्तमान अध्यक्ष टेकराज न्यौपानेले बिरुवामा पानी राखेर गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा मन्तव्य दिँदै उहाँले संस्थालाई राजनीतिक हस्तक्षेपबाट टाढा राखी स्वतन्त्र, समावेशी र उद्देश्यपरक ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो। “संस्थाको सफलतालाई एकताको जगले मात्र सम्भव बनाउँछ,” उहाँले भन्नुभयो, “यस समाजले अड्गुरी र रुपन्देहीबीचको आत्मीय सम्बन्धलाई अझ सशक्त बनाउने विश्वास लिएको छु।”
विशिष्ट अतिथिको रूपमा उपस्थिति हुनु भएका पाणिनी गाउँपालिका–७ का वडाध्यक्ष गुनाखर अधिकारीले गाउँमै दक्ष जनशक्तिको प्रयोग गरिने वातावरण तयार पार्नुपर्ने धारणा राख्नुभयो। “हामीले सहरमा मात्रै होइन, गाउँमा पनि सिर्जनशीलता र सीपलाई जीवन्त बनाएर विकास निर्माणको गति अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो।
कार्यक्रमको अध्यक्षता रामप्रसाद पन्थीले गर्नुभएको थियो ।सभामा अध्यक्ष पन्थीले विगत एक वर्षमा समाजले सञ्चालन गरेका गतिविधिको विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले समाजको नाममा गरिएका विविध लक्षित कार्यक्रमहरू — नेतृत्व विकास तालिम, सचिवालय व्यवस्थापन, प्रकाशन उपसमिति गठन, सम्बन्ध विस्तार, सदस्यता विस्तार, स्वास्थ्य शिविर, छात्रवृत्ति वितरण, तीज मिलन, नारी बचत तथा विकास, युवा प्रशिक्षण, आपसी सहयोग परियोजना तथा विपद् व्यवस्थापन कार्यक्रमबारे उल्लेख गर्नुभयो।
अर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष माधव आचार्यले प्रस्तुत गर्नुभएको थियो, जसमा आम्दानी–खर्च, कोषको विवरण, र विभिन्न सहयोगको लेखाजोखा पारदर्शी रूपमा राखिएको थियो। उक्त प्रतिवेदन उपस्थित सदस्यहरूबाट प्रशंसा प्राप्त गर्न सफल भयो।
सभा अवधिमा पाणिनी गाउँपालिका भित्रका विभिन्न वडाका सम्पर्क समाजका प्रतिनिधिहरूले पनि मन्तव्य राख्दै समाजको कामको मूल्याङ्कन गर्नु भएको थियो । उहाँहरूले समाजले गाउँ–सहरको सम्बन्ध मजबुत बनाउन, सामाजिक भावनालाई एकीकृत गर्न र भविष्यका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताउनु भएको थियो।
सभामा समाजका सल्लाहकार तथा पूर्व अध्यक्ष लुकराज न्यौपानेले समाजले शहरमा रहेर पनि गाउँको भावना बोकेको अनुकरणीय संस्था बनेको उल्लेख गर्नुभयो। “गाउँको परिस्थिति र शहरको यथार्थबीच मेलमिलाप गराउँदै अड्गुरी समाजले आपसी सद्भाव र एकताको सन्देश फैलाइरहेको छ,” उहाँको बताउनु भयो।
कार्यक्रमका विशेष आकर्षणमध्ये एकमा, समाजका आजीवन सदस्यहरूलाई सम्मान पत्रले सम्मान गरिएको थियो भने अड्गुरी क्षेत्रका ८० वर्ष नाघेका आमाबुबाहरूलाई खादा दोसल्ला ओढाएर समेत सम्मान गरिएको थियो। यस्तै, सामाजिक उत्तरदायित्वअन्तर्गत समाजले अघिल्लो वर्ष विभिन्न विद्यालयका २२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो। समाजले अड्गुरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा रु. २,५०,००० बराबरको औषधि उपचार स्वास्थ्यकर्मी बाट बिरामीलाई चेकजाँच तथा सहयोग गरेको थियो । हरेक वर्ष यस समाजले तीज मिलनजस्ता सामाजिक–सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गर्दै आइरहेको छ।
साथै, महिला बचत कार्यक्रमलाई पुनः सशक्त रूपमा सञ्चालन गर्न गरिएको पहल र यथासम्भव पारदर्शी रूपमा कार्यक्रम कार्यान्वयनमा राखिएको समेत उल्लेख गरिएको थियो। सभाको समापनतर्फ विभिन्न सामाजिक व्यक्तित्वहरूले संस्थाले लिएको कार्यदिशा र मूल्यमान्यतालाई समर्थन गर्दै आगामी दिनमा अझ सशक्त सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
१२ औँ साधारण सभाले अड्गुरी समाज रूपन्देहीलाई अझ योजनाबद्ध, सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध र समावेशी समाजका रूपमा अघि बढाउने स्पष्ट संकेत दिएको छ। कार्यक्रममा छात्रावृत्ति दाताहरूलाई सम्मान तथा कार्यक्रम सञ्चालन समाजका महासचिव जीवन अधिकारीले गर्नुभएको थियो, जसमा अनुशासन, समय व्यवस्थापन र प्रभावकारी समन्वय झल्किन्थ्यो।

