
काठमाडौं। देशको पश्चिमी भूभागमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका धेरै स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेकोले जनजीवन, यातायात, कृषि, स्वास्थ्य तथा हवाई उडानमा समस्या हुन सक्ने विभागले चेतावनी दिएको छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली भए पनि राति तराईका भूभागमा कुहिरोको प्रकोप अझै बढ्न सक्ने विभागको भनाइ छ। यसका साथै, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मौसम विभागले कुहिरो र हिमपातले गर्दा दैनिक जनजीवनमा असर पर्ने सम्भावना भएकोले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। विशेषगरी यात्रुहरूले हुस्सुका कारण यातायातमा थप समयको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ।
