गुल्मी, अर्घाखाँची र प्युठानको सीमावर्ती क्षेत्रमा निर्माण गर्न लागिएको ३२ मिटर अग्लो गुहारी जलाशय (ताल)को नमुना परियोजना अघि बढाउन मदाने गाउँपालिकाको सर्वदलीय प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज विशेष छलफल गरेको छ।

१००० मिटर लामो बन्ने प्रस्तावित तालले सीमावर्ती क्षेत्रको जल स्रोत व्यवस्थापन, पर्यटन प्रवर्द्धन र विकासलाई गति दिने अपेक्षा गरिएको छ। प्रतिनिधि मण्डलमा मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, प्रधानमन्त्रीका पूर्व जनसम्पर्क सल्लाहकार बुद्धिबहादुर जिसी, नेपाली कांग्रेस गुल्मीका नेता शिव केसी, वडाध्यक्ष सन्तोष केसी, नेकपा (एमाले)का नेता सुशील भट्टराईलगायतको सहभागिता थियो।
छलफलका क्रममा सालझण्डी–ढोरपाटन सडक, बाग्दुला–भीमगिठे सडक, मदन भण्डारी राजमार्गअन्तर्गत गोखुंगा–खरिबोट–बाग्दुला खण्ड, बृहत बिजुवार खानेपानी आयोजना, र विभिन्न पक्की पुल निर्माण जस्ता पूर्वाधार परियोजनाहरूमा पनि सरकारको ध्यानाकर्षण गराइएको थियो।
प्रतिनिधि मण्डलले यी आयोजनाहरूलाई आगामी बजेटमा प्राथमिकता दिएर द्रुत कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेको छ। अर्थमन्त्री पौडेलले प्रस्तावित आयोजना तथा स्थानीय आवश्यकता सरकारको प्राथमिकतामा राखिने आश्वासन दिएका छन्।।
