काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका कारण हिमाली, पहाडी र तराई क्षेत्रहरूमा फरक–फरक मौसमीय अवस्था देखिएको छ।

हिमाली क्षेत्र:
हिमालका उच्च भागहरूमा मौसम सामान्यतया सफा रहे पनि चिसोको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ। उच्च हिमाली भेगमा हुस्सु नरहे पनि शीतलहर तथा कडाकुको जाडो जारी रहेको छ। बिहान–बेलुकीको समय तापक्रम अत्यधिक घट्ने हुँदा स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
पहाडी क्षेत्र:
देशका मध्यपहाडी भेग, विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भागहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि बादल लाग्ने सम्भावना रहेको छ। दिनभर हल्का घाम लागेपनि बिहान–बेलुकी चिसो महसुस हुने विभागले जनाएको छ।
तराई क्षेत्र:
तराईका धेरै स्थानमा बिहानैदेखि बाक्लो हुस्सु लाग्ने क्रम जारी छ। हुस्सु तथा कुहिरोका कारण सवारी आवागमन प्रभावित हुन सक्ने, स्वास्थ्यमा असर गर्न सक्ने र कृषि कार्यमा ढिलाइ गराउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हुस्सुका कारण विशेषगरी विमानस्थलहरूमा उडानसम्बन्धी समस्या आउने जोखिम रहेको हुँदा हवाई यात्रुहरूलाई जानकारीका लागि सतर्क रहन अनुरोध गरिएको छ।
सतर्कता अपनाउन आग्रह
विभागले तराई क्षेत्रमा बिहानपख यात्रा गर्दा सावधानी अपनाउन, चालकहरूलाई बत्ती प्रयोग गरी सुरक्षितरूपमा सवारी सञ्चालन गर्न तथा स्वास्थ्य संवेदनशील व्यक्तिहरूलाई चिसोबाट जोगिन विशेष सतर्कता अपनाउन सुझाव दिएको छ। हिमाली तथा उच्च पहाडी क्षेत्रका बासिन्दाहरूलाई कडाकुको चिसोबाट बच्न न्यानो लुगाको प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
