
- राप्रपा नेता ज्ञानेन्द्र शाहीले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
- उनले पार्टीमा पुस्तान्तरण आवश्यक रहेको भन्दै वर्तमान अध्यक्षलाई सर्वोच्च नेताको भूमिकामा बस्न सुझाएका छन्।
- सत्ता केन्द्रित राजनीति त्यागेर पार्टीलाई बलियो राष्ट्रवादी शक्तिको रूपमा स्थापित गर्ने उनको प्रतिबद्धता छ।
काठमाडौ -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शाहीले आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

उनले पार्टीका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई सर्वोच्च नेताको रुपमा बस्न सुझाव दिए।
उनले पार्टीमा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै अग्रजको अनुभव र युवाको नेतृत्व स्थापित गर्न आफू अग्रसर भएको दाबी गरे।
उनले राप्रपालाई सीमित चुनावी उपलब्धि र सत्ता समीकरणमा मात्रै केन्द्रित नराखी राष्ट्रवादी विचारको बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
उनले सांसद बन्नकै लागि कहिले कहिले एमालेसँग, कहिले माओवादीसँग र कहिले कांग्रेससँग मिल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेसमेत बताए।
पार्टीलाई विभाजित नभई एकताबद्ध बनाउनसमेत पार्टीको नेतृत्व र संगठनात्मक सुधार आवश्यक रहेको बताए।
उनले आसन्न महाधिवेशनमार्फत पार्टीको नेतृत्व परिवर्तन गर्न नसके पार्टीले थप क्षति व्यहोर्नुपर्नेसमेत बताए।
राप्रपाको महाधिवेशन मंसिर २६,२७ र २८ गते काठमाडौंमा हुँदै छ।
