
- मुगुको दुर्गम पापुस्थित विद्यालयका ८२ विद्यार्थीलाई अक्कल कोपिला फाउन्डेसनले शैक्षिक सामग्री वितरण गरेको छ।
- सोही गाउँमा हालै भएको मानवीय क्षतिपछि समाजसेवी अक्कल बहादुर बोहराले पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गर्नुभयो।
- बोहराले जीवनभर देशका विपन्न र असहाय नागरिकहरूको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
रतन बहादर रावल मुगु -भौगोलिक रूपमा अत्यन्तै दुर्गम र यातायात तथा विद्युतको पहुँचबाट टाढा रहेको मुगु जिल्लाको मुगुम कार्मारुङ गाउँपालिका वडा नम्बर ९, पापुस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका ८२ जना विद्यार्थीहरूलाई शैक्षिक स्टेसनरी सामग्री वितरण गरिएको छ।

अक्कल कोपिला फाउन्डेसनका संस्थापक, पूर्व सशस्त्र प्रहरी बलका हवल्दार एवं हाल स्पेनको कोस्टा ब्लङ्कामा बस्दै आउनुभएका स्थापित समाजसेवी अक्कल बहादुर बोहराको व्यक्तिगत तथा संस्थागत पहलमा उक्त सामग्री सहयोग गरिएको हो।

यातायातको असुविधा र विकट भौगोलिक बनावटका बावजुद पनि फाउन्डेसनका प्रतिनिधिहरू विद्यालयमै पुगेर सामग्री हस्तान्तरण गरेका थिए। सामग्री प्राप्त गरेपछि खुसी हुँदै विद्यार्थीहरूले समाजसेवी बोहरालाई आफ्नो लागि ‘भगवान्’ बनेर आएको भन्दै विशेष धन्यवाद ज्ञापन गरेका छन्।
बोहराले यसअघिका वर्षहरूमा पनि यस विद्यालयका बालबालिकालाई शैक्षिक सामग्रीका साथै जाडो छल्नका लागि न्यानो कपडाहरू वितरण गर्नुभएको थियो।
शोकमा डुबेको गाउँलाई आर्थिक मल्हम
पापु गाउँ केही दिनअघि मात्रै तीन जना स्थानीय युवकको दुःखद निधनका कारण गहिरो शोकमा डुबेको थियो। उक्त विपतको समयमा पनि समाजसेवी बोहराले अग्रसरता देखाउँदै पीडित परियार परिवारलाई नगद आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो।
गाउँ शोक र अभावमा छटपटाइरहेका बेला उहाँले पुर्याउनुभएको सहयोगले स्थानीयलाई ठूलो राहत मिलेको छ।
जिन्दगी रहेसम्म समाजसेवामै रहने प्रण
अस्पतालमा छटपटाइरहेका बिरामीदेखि प्राकृतिक विपत्ति र भौगोलिक विकटताका कारण ओझेलमा परेका दिनदुःखीहरूको सहारा बन्दै आउनुभएका समाजसेवी अक्कल बहादुर बोहराले स्पेनबाट आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभयो, “मेरो जिन्दगी रहेसम्म म निरन्तर समाजसेवामा लागिरहनेछु। देशका अति विपन्न, असहाय र दिनदुःखी नागरिकहरूका लागि आफ्नो तर्फबाट सक्दो सहयोग सधैं जारी राख्नेछु।
