
- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले धनकुटाको कार्यक्रममा अध्यक्ष हर्क साम्पाङ र पुराना दलका शीर्ष नेतृत्वको आलोचना गरेका छन्।
- पुराना दलहरूले गणतन्त्रलाई पैत्रिक सम्पत्तिजस्तै उपभोग गर्न खोजेकाले नयाँ पुस्ताको ऊर्जासहित नयाمی पार्टी निर्माण गर्नुपरेको उनको भनाइ छ।
- उनले सक्षम नेतृत्वमा हुनुपर्ने गल्ती स्वीकार गर्ने र पक्षपात नगर्ने जस्ता ७ वटा मुख्य विशेषताहरू समेत उल्लेख गरेका छन्।
काठमाडौ – श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले अध्यक्ष हर्क साम्पाङसहित अन्य दलहरुका शीर्ष नेतृत्वमाथि आलोचनात्मक टिप्पणी गरेका छन् ।

किरातीले सक्षम नेतृत्वमा हुनुपर्ने ७ बुँदे मुख्य विशेषता उल्लेख गर्दै भनेका छन्, ‘आफ्नो गल्ती र कमजोरी स्वीकार गर्ने, अरूमाथि दोष नथोपर्ने र जिम्मेवारीबाट नपन्छिने खाले नेतृत्व हुन आवश्यक छ ।’
श्रम संस्कृति पार्टीको ‘केचनाकवल सगरमाथा हातेमालो अभियान’ अन्तर्गत धनकुटाको पाख्रीबासमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । किरातीले पुराना पार्टीले पनि आफ्नो विगतको योगदानको मिटरब्याज उठाउन खोज्न नहुने बताए ।
उनले थप भने, ‘पुराना दलले गणतन्त्रलाई पैत्रिक सम्पत्तिको रूपमा उपभोग गर्न खोजे । त्यही भएर नयाँ पार्टी निर्माण गर्नुपर्ने परिस्थिति सृजना भयो ।’
यही कारण अहिले श्रम(संस्कृतिमा नयाँ पुस्ता र नयाँ ऊर्जा ज्वालामुखीको लाभा जस्तै उठेको किरातीको भनाइ छ । नयाँ पुस्ताको त्यो ऊर्जालाई शक्तिमा बदल्न कुशल नेतृत्व आवश्यक रहने उनले बताए । यसका लागि कुशल नेतृत्व निर्माण मूलभूत रूपमा केही गुण चाहिने बताउँदै ७ बुँदे विशेषता उल्लेख गरेका छन् ।
किरातीले उल्लेख गरेको ७ बुँदे विशेषता यस्ता छन्ः
१. आफ्नो गल्ती र कमजोरी स्वीकार गर्ने, अरूमाथि दोष नथोपर्ने र जिम्मेवारीबाट नपन्छिने
२. कुरा स्पष्ट रूपमा राख्ने, विषयलाई सरल ढंगले बुझाउन सक्ने र कठिन परिस्थितिमा पनि सबैसँग खुला संवाद गर्ने
३. पार्टीको नीति सफल बनाउन स्पष्ट लक्ष्य, प्रभावकारी योजना र सही दिशा तय गरी त्यसलाई कार्यान्वयनमा लैजान सक्ने
४. हरेक काममा अनावश्यक हस्तक्षेप नगर्ने, जिम्मेवारी पाएका सहकर्मीको क्षमता र निर्णयमाथि विश्वास गर्ने
५. व्यक्तिगत निकटता वा रुचिका आधारमा होइन, योग्यता, क्षमता र योगदानका आधारमा अवसर र जिम्मेवारी दिनेः पक्षपात नगर्ने
६. आलोचना र सुझावलाई सहज रूपमा ग्रहण गर्ने, गल्तीबाट सिक्ने र आवश्यक सुधार गर्दै अघि बढ्ने
७. पार्टी पंक्तिलाई उत्साहित र उत्प्रेरित गर्ने, प्रत्येक व्यक्तिको क्षमता पहिचान गरी परिणाममुखी काम गर्न अवसर र प्रेरणा दिने ।
