अर्घाखाँची पूजा शर्मा ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले भदौ महिनामा सम्पादित आफ्ना विभिन्न मुख्य कार्य तथा गतिविधिहरूको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्क अनुसार भदौ महिनामा अपराध अनुसन्धान र नियन्त्रणतर्फ अर्घाखाँची जिल्लाभर कुल १० वटा विभिन्न मुद्दाहरू दर्ता भएका छन्, जसमा २ वटा आर्थिक अपराध र ८ वटा अन्य विविध शीर्षकका मुद्दाहरू रहेका छन्। यसैगरी, फैसला कार्यान्वयनतर्फ लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरी छ महिना कैद र दुई हजार रुपैयाँ जरिवाना भुक्तानका लागि चलान गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षातर्फ जिल्लाभरबाट कुल १३ जना हराएको उजुरी परेकोमा प्रहरीको सक्रियतामा ८ जनालाई फेला पारी आफन्तको जिम्मा लगाइएको छ भने बाँकीको खोजी कार्य जारी छ। घरेलु हिंसाका दुई उजुरीमध्ये एउटामा मिलापत्र गराइएको र अर्कोलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।

सडक सुरक्षा तथा राजस्वतर्फ तीव्र गतिका कारण जिल्लामा चार वटा सवारी दुर्घटना भएका छन्, जसमा उद्धार कार्यसहित कुल २४९ वटा सवारी साधनलाई कारबाही गरी २ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। अवैध पशु चौपाया तथा भन्सार छली नियन्त्रणतर्फ एक थान सवारी साधनसहित नौ वटा बाख्रा नियन्त्रणमा लिई नौ हजार रुपैयाँ जरिवाना गरिएको छ भने प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिई ६४ हजार ६०० रुपैयाँ दण्ड जरिवाना गरिएको छ। विपद व्यवस्थापन र अन्य घटनातर्फ भदौ महिनामा जिल्लामा चट्याङ परेको एक घटना दर्ता भएको छ, जसमा परी दुई बालबालिका घाइते भएका छन् भने एक वटा बाख्राको मृत्यु हुनुका साथै एक घर र एक गोठमा क्षति पुगी करिब १ लाख २० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ। यस्तै, भदौ महिनामा जिल्लाभर कुल दुई जना पुरुषले आत्महत्या गरेको विवरणमा उल्लेख छ।
शान्ति सुरक्षा र समुदाय साझेदारीतर्फ प्रहरीले पिकेट, चेकिङ, एसआरपी र एलआरपी गरी कुल २ हजार १६० पटक ४ हजार ७६२ जना प्रहरी जनशक्ति परिचालन गरेको छ। अपराध न्यूनीकरणका लागि “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न ७१ स्थानहरूमा चेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो, जसमा कुल १५ हजार ५२५ जना स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। यसका साथै जिल्ला प्रहरी कार्यालयबाट २५ वटा नागरिकता र हतियार नवीकरणका लागि मुचुल्का संकलन गरिएको छ भने नागरिक सहायता कक्षबाट ५२८ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र छाँया अस्पताल बीच भएको समझदारी बमोजिम न्यायिक हिरासतमा रहेका थुनुवाहरूलाई नि:शुल्क स्वास्थ्य परीक्षण गराइनुका साथै भदौ महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने छ जना प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी फल बहादुर तामाङले जानकारी दिनुभएको छ।
