
- बाढीका कारण हालसम्म एक हजार तीन सय ६७ जनाको शव फेला परेको छ।
- पाँच हजार एक सय ३२ जना अझै सम्पर्कविहीन रहेकाले खोजी कार्य तीव्र पारिएको छ।
- विपद्मा परेका १३ हजार छ सय ४६ जनाको सकुशल उद्धार गरिएको छ।
काठमाडौं ।रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोटेकोशी र त्रिशूली बाढीपछि हराइरहेका पाँच हजार १३२ जना अझै सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२६, नवलपरासी पश्चिममा २२२ र चितवनमा ३६३ जनाको शव फेलापरेको छ।
तीमध्ये हालसम्म १०२ वटा शवको सनाखतपछि आफन्तले बुझिसकेका छन्।
बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ तथा सरकारी कर्मचारी ७३ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ र विदेशी पर्यटक करिब ५८९ जना सम्पर्कविहीन छन्। सुरक्षा फौजले सम्पर्कविहीनको खोजी तथा उद्धारकार्यलाई थप तीव्र तुल्याइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ।
