
- देशभरको मौसम प्रतिकूल भई केही नदीमा जलसतह सतर्कता तह पार गरेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
- प्रधानमन्त्री बालेन्द्र शाहले मानव बेचबिखनमुक्त समाज निर्माणका लागि तीनै तहका सरकार र सरोकारवाला निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन्।
- पूर्वराष्ट्रपति डा. रामवरण यादवले सामुदायिक विद्यालयमा भएको राजनीतिक हस्तक्षेपका कारण शिक्षा प्रणाली ध्वस्त भएको भन्दै यसमा चिन्ता व्यक्त गरेका छन्।
१- काठमाडौ – पछिल्लो ६ घण्टामा पाल्पाको अर्चलेमा ७०.६ मिलिमिटर पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार गएराति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा कोशी, बागमती र मधेश प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
आज बिहान चितवनको त्रिशूली काली खोला क्षेत्र, पर्वत, लमजुङलगायतका एक/दुई ठाउँमा पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिशुलीको काली खोला क्षेत्रमा पछिल्लो एक घण्टामा १६.२ मिलिमिटर वर्षा मापन भएको छ ।
बाढी पूर्वानुमान महाशाखाले लमजुङको मस्र्याङ्दी नदी भकुण्डेबेशी जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई अहिले बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागको एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ
२- काठमाडौ – प्रधानमन्त्री बालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्कका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरे।
‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताएका छन्।
उनले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप नीतिगत तथा संस्थागत सुधार गर्दै आएको जानकारी दिएका छन्। यसका लागि तीनै तहको सरकार र सम्बन्धित सबै सरोकारवालाको समन्वय तथा सहकार्यमा विभिन्न पहल भइरहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल हुने गरी संशोधन गर्ने विधेयक संसदमा दर्ता गरिएको छ। यसबाट मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकार संरक्षणका लागि राज्यहरूबीच सहयोग र समन्वय बढाउन सहज हुने अपेक्षा गरिएको छ।
विद्यमान कानुनी तथा संस्थागत संयन्त्रलाई संघीय संरचनाअनुरूप बनाउने क्रममा मानव बेचबिखनविरुद्धको नीति जारी गरी कार्यान्वयनमा ल्याइएको पनि प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।
उनले मानव बेचबिखनविरुद्धको अभियानमा संघीय सरकारका अतिरिक्त प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताए।
‘हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ,’ प्रधानमन्त्री शाहले सन्देशमा उल्लेख गरे। उनले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नेपाल सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै सरकारको प्रतिबद्धतामा साथ, सहयोग र ऐक्यबद्धताका लागि आग्रह गरे
३- काठमाडौ -ईंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा लिभरपुलले ईप्सस्विच टाउनलाई २ गोलले हराएको छ ।
लिभरपुलको जितमा दुवै गोल अलेक्जेन्डर इसाकले गरे । उनले खेलको छैटौँ र नवौँ मिनेटमा गोल गरे । नयाँ प्रशिक्षकमा एन्डोनी इराओला आएयता लिभरपुलको यो पहिलो जित हो र यसले उनलाई ठूलो राहत दिएको छ ।
यसअघि लिभरपुलले लिगमा न्युकासल युनाइटेड र नटिङघम फरेस्टसँग २–२ गोलको बराबरी खेलेको थियो । तीन खेलमा एक जितसहित लिभरपुलको पाँच अंक भएको छ ।
त्यस्तै पहिलो खेल जितेको ईप्पस्विच टाउनले लगातार दुई खेल हारेको छ । ईप्पस्विच टाउन तीन अंकसहित तालिकाको तेह्रौ स्थानमा छ।
४- काठमाडौ – अछाममा कर्णाली नदी शनिबार (भदौ २०) बिहान सतर्कता तह पार भएको छ ।
बेनीघाट जलमापन केन्द्रमा कर्णालीको जलसतह सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
“भदौ २० बिहान ११ः१५ बजे । अछामस्थित कर्णाली नदी बेनीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हुनाले नदीतटीय क्षेत्रका बासिन्दा सतर्क रहनुहोला,” महाशाखाले भनेको छ ।
५- काठमाडौ – यही भदौ १० गतेको भोटेकोशी हुँदै आएको बाढीमा परेका मध्ये अहिलेसम्म एक हजार तीन सय ४४ जनाको शव भेटिएको छ । ५ हजारभन्दा धेरै हराइरहेका छन् ।
अहिलेसम्म १३ हजार ९८ जनाको उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म पाँच हजार ६६३ जनाको उपचार गरिएको छ ।
रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ३७ होल्डिङ सेन्टरमा चार हजार ६२७ जनाले सुरक्षित आश्रय लिइरहेका छन् । विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका पनि प्राधिकरणले जनाएको छ ।
काठमाडौ – चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृ`त्यु भएको छ ।
गएराति टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको लु प्र०१-००१ख ००४५ नम्बरको मिनी ट्रक र भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना३७प ७०९६ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका-७ निवासी ३८ वर्षीय राजकुमार दर्जी गम्भीर घाइते भई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिनुभयो ।
प्रहरीले मिनी ट्रक र चालक रुपन्देहीको गैडहवा गाउँपालिका-७ निवासी ४० वर्षीय रामेश्वर खरविन्द्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौ -पूर्वराष्ट्रपति डा. रामवरण यादवले राज्यले शिक्षाको सम्पूर्ण जिम्मा लिएपछि सुरु भएको राजनीतिकरणका कारण मुलुकको समग्र शिक्षा प्रणाली नै ध्वस्त भएको टिप्पणी गरेका छन्।
शनिबार पी.पी. प्रसाई फाउण्डेशनद्वारा आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति डा. यादवले पहिले समुदायले सञ्चालन गरेका शिक्षण संस्थाहरू उत्कृष्ट रहेको स्मरण गर्दै सरकारीकरण र राजनीतिक हस्तक्षेपले सामुदायिक विद्यालयहरूको अवस्था दयनीय बनाएको बताए।
उनले भने, ‘पहिले समुदायले नै शिक्षाको जिम्मा लिन्थ्यो। जनकपुरमा रामस्वरूप साह र विराटनगरमा कृष्णप्रसाद कोइरालाहरूले दान दिएर विद्यालय खोले, भारतबाट समेत उत्कृष्ट शिक्षक ल्याए। तर, जब राज्यले जिम्मा लियो— राजनीति गडबड भयो र सारा शिक्षा प्रणाली नै बिग्रियो। आज सामुदायिक विद्यालयमा गणितको शिक्षक भए अंग्रेजीको छैन, अंग्रेजीको भए नेपालीको छैन। यो हालत छ।’
समारोहमा उत्कृष्ट शिक्षकहरूको छनोटमा मधेशबाट एक जना पनि नपरेकोप्रति डा. यादवले गम्भीर चिन्ता व्यक्त गरे। विगतमा देशभरका पहाडी भेगसम्म गणित र अंग्रेजी पढाउन मधेशकै शिक्षक पुग्ने गरेको इतिहास स्मरण गर्दै उनले अहिलेको अवस्थाले आफूलाई दुःखी बनाएको बताए।
‘पुरस्कार वितरणमा मधेशको पालो आउँदा एक जना शिक्षक पनि छनोटमा परेनन्। आयोजकलाई सोध्दा क्राइटेरिया नै पुगेन भन्नुभयो। मलाई चसक्क लाग्यो। कुनै समय देशभरिका पहाडमा गणित र अंग्रेजी पढाउने शिक्षक मधेशबाटै जान्थे, आज त्यहाँको अवस्था क्राइटेरियामा समेत नआउने कस्तो बन्यो?,’ उनले भने।
आफ्नो डाक्टरी अध्ययनको समय स्मरण गर्दै डा. यादवले कलकत्तामा ७० को दशकको नक्सलाइट आन्दोलन र अशान्तिका बीच प्राध्यापक डा. हरिदास बनर्जीले देखाएको कर्तव्यनिष्ठाको प्रसंग सुनाए। जादवपुर विश्वविद्यालयका उपकुलपतिको हत्यापछि पूरै सहर स्तब्ध हुँदा पनि डा. बनर्जी विद्यार्थी पढाउन एनाटोमी हलमा पुगेको घटना उनले स्मरण गरे।
‘त्यतिबेला हड्ताल र हिंसाका बीच पनि कलेज आएका प्राध्यापक बनर्जीले भन्नुभएको थियो— ‘काटमार गर्नेको काम राजनीति र काटमार नै होला, तर मेरो काम भोलि मानिस बचाउने असल डाक्टर बनाउनु हो।’ शिक्षकहरू त्यस्तै हुन्। तपाईंहरू यस्तो फ्याक्ट्री हुनुहुन्छ, जसले देश, समाज र संसार बनाउने असल मनुष्य तयार गर्छ,’ उनले भने।
डा. यादवले पछिल्लो समय जलवायु परिवर्तन र मानवीय दोहनका कारण प्राकृतिक विपद् बढेको भन्दै वातावरण संरक्षणमा सचेत हुन आग्रह गरे। हाम्रा पहाडहरू भत्किँदै गइरहेको र विश्व नै वातावरणीय संकटतर्फ धकेलिएको भन्दै उनले प्रकृति र वातावरण शिक्षामा नयाँ पुस्तालाई जोड्नुपर्ने आवश्यकता औंल्याए ।
७- काठमाडौ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८७ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १८ पैसा र बिक्रीदर ४० रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १६ पैसा र बिक्रीदर ११ रुपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५ रुपैयाँ ८५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
