
- नेपाल र चीनको सीमा क्षेत्रमा बाढी र पहिरोले ५८६ जनाको ज्यान लिएको छ।
- दुई हजार ४७८ जना अझै बेपत्ता रहेकोले खोजी कार्य जारी राखिएको छ।
- बाढीले भौतिक संरचनामा क्षति पुर्याएको छ र थप जोखिमका बीच उद्धार कार्य भइरहेको छ।
काठमाडौं ।नेपाल-चीन सीमा क्षेत्रमा आएको भीषण बाढी र पहिरोमा परी दुवै देशमा कम्तीमा ५८६ जनाको मृत्यु भएको छ। महाविपद्को चौथो दिनसम्म दुई हजार ४७८ जना अझै बेपत्ता छन्।

पछिल्लो विवरणअनुसार नेपालतर्फ ५७९ जनाको मृत्यु भएको छ भने एक हजार ९२४ जना बेपत्ता छन्। चीनको सिजाङतर्फ भने सात जनाको मृत्यु भएको छ भने ५५४ जना बेपत्ता रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
बुधबार हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको ठुलो बाढी र पहिरोले नेपालका रसुवा तथा नुवाकोटसहितका क्षेत्रमा ठुलो क्षति पुर्याएको छ। यसको असर चीनको सिजाङ स्वायत्त क्षेत्रको ग्याइरोङ बन्दरगाहसम्म पुगेको थियो। बाढी र पहिरोले सडक, पुल, जलविद्युत आयोजना तथा अन्य भौतिक संरचनामा ठुलो क्षति पुर्याएको छ।
चीन र नेपालले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी राखेका छन्। ग्याइरोङ क्षेत्रमा पहिरोका कारण बनेको अवरोध तालबाट थप बाढी आउन सक्ने जोखिमका कारण शुक्रबार केही समय उद्धार कार्य रोकिएको थियो। हवाई निरीक्षण र अन्य प्राविधिक अध्ययनपछि तत्कालको जोखिम व्यवस्थापन गर्न सकिने देखिएपछि उद्धार कार्य पुनः सुरु गरिएको हो।
