
- छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६५ करोड २१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित गरेको छ।
- कुल बजेटको ४० प्रतिशत चालु र ६० प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
- नगरपालिकाले पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य र श्रमदान बैंकजस्ता रूपान्तरणकारी कार्यक्रमहरू ल्याएको छ।
रतन रावल।मुगु छायाँनाथ रारा नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६५ करोड रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित १९ औँ नगर सभा ले नगरपालिका को आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको हो।नगरपालिका ले आगामी आर्थिक वर्षका लागि कुल ६५ करोड २१ लाख ४२ हजार २१ रुपियाँको बजेट तथा कार्यक्रम पारित गरेको नगर प्रमुख विष्णु-कुमार भाम ले जानकारी दिनु भयको छ। नगर प्रमुख भामका अनुसार बुधबार नै नगरसभामा प्रस्तुत गरिएको थियो आगामी वर्षको नीति तथा कार्यक्रमसमेत व्यापक छलफलपछि पारित भइसकेको छ।

विनियोजित कुल बजेटमध्ये चालुतर्फ ४० प्रतिशत र
पुँजीगततर्फ ६० प्रतिशत बजेट सीमाभित्र रही विषयगत क्षेत्रमा रकम छुट्याइएको छ। बजेटको मुख्य स्रोतका रूपमा सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा आन्तरिक राजस्वलाई आधार मानिएको नगरपालिका ले जनाएको छ। बजेट वक्तव्य नगर उपप्रमुख ऐश्वर्या शाही मल्लले सभामा प्रस्तुत गर्नुभएको थियो।
रूपान्तरणकारी र गौरवका योजना
आगामी वर्षको बजेट ले नगरपालिका को दीर्घकालीन विकासका लागि विभिन्न महत्त्वाकाङ्क्षी तथा गौरवका योजनाहरू समावेश गरेको नगरप्रमुख भामले बताउनुभयो। प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा सुम्ली बेलिब्रिज पुल र सडक निर्माण, लेत्याखोला र रोवाखोलामा मोटरेबल पुल निर्माण तथा खुला मञ्च निर्माणका लागि मुआब्जा वितरण जस्ता पूर्वाधारका कार्यक्रम समेटिएका छन्।
यसै गरी स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा खानेपानी क्षेत्रको गुणात्मक विकासका लागि रैथाने बाली प्रवर्द्धन जस्ता रूपान्तरणकारी कार्यक्रम अघि सारिएको छ। वातावरणीय सन्तुलनका लागि ‘एक मुख दस रुख’ अभियान, विकास निर्माणमा जनसहभागिता जुटाउन ‘श्रमदान बैङ्क’ को स्थापना तथा सामाजिक न्यायका लागि विपन्न दलित घरधुरीलाई ‘दसैँ विशेष सहायता’ कार्यक्रमसमेत बजेटमा समेटिएको छ।कार्यपालिका तथा नगरसभाका सदस्यहरूको पूर्ण उपस्थिति रहेको उक्त नगरसभाले आफ्ना सम्पूर्ण कानुनी र प्रक्रियागत कार्यहरू सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेको छ।
