

अर्घाखाँची। पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङस्थित साविक वडा नं. ८ को कालिका मन्दिरदेखि साविक वडा नं. ३ को मालिका मन्दिरसम्म जोड्ने गरी झोलुङ्गे पुल निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो कि शुक्रबार पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम सम्पन्न गरिएको हो। उहाँका अनुसार प्राविधिक टोली तथा स्थानीय सरोकारवालाको उपस्थितिमा नापजाँच, सर्वेक्षणलगायत सम्पूर्ण प्रारम्भिक कार्य पूरा भइसकेको छ।
यस योजनाअन्तर्गत करिब ३६० मिटर लम्बाइको पुल बन्नेछ। पुल निर्माण सम्पन्न भएपछि धातिवाङ्ग क्षेत्रमा आवागमन सहज हुने र शिक्षा, स्वास्थ्य, व्यापारदेखि दैनिकी जीवनमा समेत ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले पुल बन्ने समाचारलाई धातिवाङ्गकै अहिलेसम्मको महत्वपूर्ण पूर्वाधारका रूपमा लिएका छन्। उनीहरूका अनुसार पुल बनेपछि गाउँमा नयाँ सम्भावना खुलेर सामाजिक तथा आर्थिक रुपान्तरणमा ठूलो टेवा पुग्नेछ।
समाजसेवी तथा युवा नेता इन्द्रमणि पौडेलसहित वडाका जनप्रतिनिधिहरू सिंहदरबार पुगेर पहल गरेपछि पुल निर्माणका लागि करिब ३ करोड रुपैयाँ बजेट विनियोजन भएको वडा अध्यक्ष पौडेलले बताउनुभयो।
अध्यक्ष पौडेलले अब छिट्टै ठेक्का प्रक्रियामा जाने र आफ्नो नेतृत्वको यसै कार्यकालमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “धातिवाङ्गवासीको दशकौँ पुरानो सपना पूरा गर्ने जिम्मेवारी मैले लिएको छु। यसै कार्यकालमै पुल निर्माण सम्पन्न गर्ने दृढ विश्वास लिएको छु।”

