नेपाल खोज खबर संवाददाता- रतन रावल मुगु – जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले पदभार ग्रहण गरेको दुई वर्ष पुग्दै गर्दा अस्पतालको सेवा, संरचना र सुविधा क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गर्नुभएको छ।

अध्यक्ष मल्लका अनुसार हिमानी ट्रस्टको सहयोगमा दुई करोड रुपैयाँमा आवासीय भवन निर्माण अघि बढाइएको छ भने एक एम्बुलेन्स नि:शुल्क प्राप्त भएको छ। अस्पताल परिसरमा घेरबार निर्माण भएसँगै मानिस र पशुहरूको अनावश्यक आवागमन बन्द भएको छ।
अस्पतालको नाममा खानेपानी मूल दर्ता, एमडीपीजी डाक्टरको व्यवस्था, ठूला केशहरू अस्पतालमै अपरेशन हुने प्रणाली, १५ शय्याबाट ५० शय्या क्षमतामा विस्तार र नर्सिङ कलेज स्थापना गर्ने तयारी जस्ता महत्वपूर्ण कार्य सम्पन्न भएका छन्।

युनिसेफसँगको सम्झौताअनुसार अपांगमैत्री खानेपानी, सुविधा सम्पन्न शौचालय, वासिङ मेसिन मर्मत तथा सरसफाइ कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै, रातमा औषधि किन्न बजार जानुपर्ने समस्या अन्त्य गर्न सशुल्क फार्मेसी सुरु गरिएको छ।
कोइका संस्थाले फिर्ता लिन खोजेका करोडौं मूल्यका उपकरण अध्यक्षको पहलमा जिल्लामै राखिएको छ। ती उपकरण सञ्चालनका लागि विभिन्न स्थानीय तहबाट करिब ५० लाख रुपैयाँ जुटिसकेको छ। नगर र गाउँपालिकाले उपकरण, फार्मेसी, क्यान्टिन मर्मत, प्रतीक्षालय निर्माण र अन्य सुविधाका लागि बजेट छुट्याउने प्रतिबद्धता जनाएका छन्।
छिट्टै अस्पतालमा शववाहन र थप एम्बुलेन्स भित्र्याइनेछ, जसमा गरीब, असहाय, अपांग र ज्येष्ठ नागरिकका लागि ५०% छुटको व्यवस्था हुनेछ। वर्षौंदेखि प्रयोगविहीन पुरानो एम्बुलेन्स पूर्ण मर्मतपछि नयाँ अवस्थामा ल्याउने काम अन्तिम चरणमा पुगेको छ।
अध्यक्ष मल्लले अस्पतालको काममा कुनै भ्रष्टाचार नगरेको र प्रमाणित भए तत्काल राजीनामा दिन तयार रहेको प्रतिवद्धता व्यक्त गर्दै, सरसफाइमा लापरबाही गर्ने करार कर्मचारीको म्याद नथप्ने चेतावनी दिनुभयो। उहाँले बिरामीहरूको उपचारका लागि रातदिन खटिने र अस्पताललाई अझ सक्षम बनाउने लक्ष्य राखेको बताउनुभयो।
