नयाँ दिल्ली – नेपाली भाषा, कला, र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै प्रवासी नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले ‘लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवार, नयाँ दिल्ली’ द्वारा आयोजित भव्य सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मार्च ९ तारिखका दिन नगर भवन (मुलचन्द्र मेट्रो स्टेशन नजिकै), नयाँ दिल्लीमा आयोजना गरिएको उक्त कार्यक्रममा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा चर्चित नेपाली गायक वसन्त लम्साल, गायिका गुल्मेली जमुना, आश्मा बन्जाडे, सुमित्रा सुनार , मोडल प्रकाश शर्मा, कृष्ण गोर्खाली, चक्र बुडा मगर, नृत्यांगना कुसुम राना, बाल कलाकार सृष्टि अधिकारी, निर्मला पुन , लगायत स्थानीय कलाकारहरूले मनमोहक प्रस्तुति दिएका थिए । साथै, संस्थाका महिला सदस्यहरूको सामूहिक नृत्यले पनि दर्शकको मन जित्यो।

लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवारले प्रवासमा नेपाली पहिचानलाई बलियो बनाउने तथा सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। प्रवासी नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सहयोगको भावना जागृत गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरिने संस्थाले जनाएको छ।

विशेष आकर्षणका रूपमा रहेको यस सांस्कृतिक कार्यक्रमको सञ्चालन सन्दीप भाटले गरेका थिए। विभिन्न संघसंस्था तथा प्रवासी नेपालीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न यस भव्य कार्यक्रमले सम्पूर्ण नेपालीहरूबीच एकता र भाइचाराको महत्त्व अझै बडाएको छ ।


