सप्तरी – पाँच वर्षअघि आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका सप्तरी शम्भुनाथ नगरपालिका-२ निवासी सन्तोष साहलाई प्रहरीले पक्राउ गरेको छ।

सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार साहलाई बिहीबार पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। प्रहरीले फरार प्रतिवादीको खोजी गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
२०७६ साल चैत ६ गते राति साहले आफ्नी श्रीमती गायत्री कुमारीलाई कुटपिट गरी शम्भुनाथ नगरपालिका-२ ट्राफिक चोकबाट ४०० मिटर पूर्वमा फालेका थिए। भोलिपल्ट स्थानीयले उनलाई गम्भीर अवस्थामा फेला पारेर उपचारका लागि युनिक अस्पताल लगेका थिए, तर उपचारका क्रममा उनको मृत्यु भयो।
गायत्री र सन्तोषको २०७६ साल जेठ २६ गते विवाह भएको थियो। विवाहपछि दम्पतीबीच पटक-पटक विवाद हुँदै आएको थियो। हत्या पश्चात् साह फरार थिए, जसका कारण उनको खोजी जारी रहेको थियो।
जिल्ला अदालत राजविराजले साहलाई कर्तव्य ज्यान मुद्दामा तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
